१८ फागुन, पर्वत । फलेवास नगरपालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाको कार्यान्वयनको बारेमा छलफल भएको छ । परम्परागत रुपमा खेती हुँदै आएकोमा यसलाई व्यवसायिक बनाउने हेतुले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय मातहत रहने गरि उक्त आयोजना फलेवासमा शुरु हुन लागेको छ । यसवारेमा आज जनप्रतिनिधी, कर्मचारी, कृषक तथा आयोजना पक्षका बिचमा उक्त छलफल भएको हो । पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाका प्रमुख बरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभयो भने प्राप्त सुझाव र प्रश्नको जवाफ दिएका थिए ।
फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले फलेवास नगरपालिका सुन्तला, आँप, कटहर, लीची, बेलाउती जस्ता फलफुलको राम्रो संभावना रहेको क्षेत्र भएकाले यि फलफुल लगाउने कुरामा आयोजनाले ध्यान दिनुपर्ने बताए । उनले किसानलाई व्यावसायिक बनाउन आयोजनाले मद्धत गर्नेमा आशाबादी रहेको बताए । न्यूनतम २० रोपनी क्षेत्रफल समेटेर परियोजनाले लगानी गर्ने नीति बनाएकोमा उहाँले साना किसान संग यति धेरै जमिन नहुने भएकाले उनीलाई पनि समेट्ने कुरामा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा विभिन्न वडा अध्यक्षहरु, कृषक प्रतिनिधी, कर्मचारी लगायतले सुझाव राखेका थिए ।
कार्यक्रममा आयोजनाका प्रमुख बालकृष्ण अधिकारीले प्रदेश सरकारले यो आयोजनामा १० वटा वालीको सिफारिस गरेको र स्थान हेरेर ति खेती गरिने बताए ।
फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले किसानको उत्पादनको विक्रीमा समस्या रहेको, बाँदरले नोक्सानी गर्ने समस्या रहेको, सिँचाईका पनि समस्य रहेकाले कार्यक्रमले यसमा चासो दिनुपर्ने बताइएन । उक्त कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत ऋषिराम आचार्यले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको स्वागत तथा सञ्चालन कृषि विकास निर्देशनालय पोखराका कृषि प्रसार अधिकृत विनोद शर्माले गरेका थिए ।




