७ फागुन, पर्वत । सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर गुफा धार्मिक र पर्यटकीय महत्व बोकेको गुफा हो । गुफाको अवलोकन र दर्शन गर्न जानको लागि प्रयोग गरिने मुख्य पदमार्ग पहिरोले भत्काएको ३ बर्ष पुगेको छ तर पदमार्गको मर्मत अझै भएको छैन । गुफा परिसर भन्दा केहि माथि रहेको गायत्री मन्दीर देखि गुफा पुग्नका लागि बनाइएको झण्डै २ सय मिटर पदमार्ग ३ बर्ष अघिको पहिरोले भत्काएको थियो ।
पदमार्ग भत्काएको ३ बर्षसम्म पनि उक्त स्थानको मर्मत नहुँदा दशनार्थीले सास्ती बेहोर्नु परेको छ । भिरको बाटो जोखिमूर्ण यात्रा गर्न बाध्य छन् यात्रुहरु । गुफा परिसरको महत्वपूर्ण पदमार्ग निर्माण गर्न कुनै पक्षले पनि चासो नदेखाएको पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष केदारनाथ शर्मा बताउँछन् । गुफा ब्यवस्थापन समितिले पटक पटक विभिन्न निकायसंग अनुरोध गरे पनि पदमार्गको निर्माण नभएको जनाएको छ ।
गायत्री मन्दिरसंगै रहेको गुप्तेश्वर बेदवेदाङग पाठशालाका विद्यार्थीहरु समेत यो स्थानमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पहिरोका कारण २ सय मिटर पदमार्ग भत्एिको छ । अहिले भत्किएको स्थानमा जोखिमपूर्ण तरिकाले दशनार्थीहरुले यात्रा गरीरहेका छन् ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ । पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ ।
नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका आकृतिहरू जस्तै देखिन्छन् ।
वि.सं. १९९१ साल चैत ६ गते गुफा पत्ता लागेको हो । सत्ययुगमा भगवान शिव गुप्त रहेको स्थलको रूपमा मानेर पनि यसको नाम ‘गुप्तेश्वर महादेव गुफा’ नामकरण भयो । किंवदन्ती अनुसार महादेव र पार्वतीबिच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भनिएको भन्ने पनि छ ।
हिन्दु धर्मग्रन्थ श्रीस्वास्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार परापूर्व कालमा कुशुमपुर र कुुशुम वाटिका (हालको कुश्माबजार) मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो । अत्यधिक मात्रामा फलफूल र कुश पाइने कुशुमपुरबाट फलफूल र कुश टिपेर हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पति पाउँ भनी पाङस्थित पार्वती गुफामा समेत तपस्या गरेको किंवदन्तीमा पाइन्छ ।
सोही धार्मिक विश्वासका साथ महााशिवरात्री, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, राम नवमी अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमवारका दिन गुफामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।




