५ जेठ, पर्वत । जिल्लाको जलजला गाउँपालिकाको बगरफाँटमा लामो समय देखि स्थानीयबासी मोटरेवल पुल नहुँदा सास्ती बेहोर्दै आइरहेका थिए । सडक सञ्जालबाट नजोडिएका कारण कालीगण्डकी नदीमा मोटरेवल पुलको आवश्यकता भएपनि पुलको अभावले स्थानीयले सास्ती बेहोर्दै आइरहेका थिए । काली नदी पारी वेनी बजारमा अत्यावश्यक सवै सुविधा भए पनि काली वारीका बासिन्दा सडक सञ्जालबाट बिमुख थिए ।
हिउँदको समयमा केहि महिना नदी वारीबाट खनिएको सडकमा यात्रा गर्न पाए पनि बर्षातमा उक्त सडक खोलाले बगाउने गर्दथ्यो । सडक बर्षेनी बगाउँदा सडक मर्मतमा समेत बर्षेनी बजेटको आवश्यकता पर्दै जाँदा उक्त सडक बन्द नै भएको छ । वैकल्पिक सडक नहुँदा सास्ती बेहोरेका स्थानीय बासीका लागि भने खुशीको खवर यति बेला सञ्चार भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग चार महिनाभित्र नै पुल निर्माणको काम सम्पन्न गरेको छ । पुल निर्माणका लागि जिल्लाका जनप्रतिनिधिहरुलाई समेत स्थानीयले पटक पटक दबाव दिदै आएका थिए । अन्ततः पुल निर्माण कार्य सम्पन्न भएको र केहि दिनमै पुलमा सवारी साधन चल्न सक्ने भएको स्थानीय विज्ञान शर्माले जानकारी दिए । एक करोड ६० लाख रुपियाँमा पुलको निर्माण कार्य सम्पन्न भएको छ । पुलका लागि आवश्यक बेलि व्रिजका सामाग्रीहरु भने कालीगण्डकी करिडोरको अन्य पुलहरुबाट स्थानान्तराण गरिएको हो ।
ब्रिज ५४ मिटर लामो छ । पुल निर्माण भएपछि पर्वतको बगरफाँट देखि म्याग्दीको वेनीबजार प्रत्यक्ष रुपमा मोटरबाटोबाट जोडिएको छ ।




