१० चैत, पर्वत । पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले पर्वत बेनीदेखि बगरफाँट जोड्ने निर्माणधिन बेलिव्रिजको निरिक्षण गरेका छन् । स्थानीयबासी सहित निरिक्षणमा पुगेका गिरीले निर्वाचनको समयमा आफूले गरेको प्रतिबद्धता बमोजीम पुल निर्माण प्रक्रिया अघि बढेको बताए । सडक कालीगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो ।
पक्की पुल नहुँदा बगरफाँटवासीले सास्ती भोग्दै आएका थिए, उनीहरुले निर्वाचनको बेलामा सांसद गिरीलाई तत्काल बेलिब्रिज निर्माणका लागि माग गरेका थिए । गिरीले आफ्नो प्रतिबद्धता सम्झाउँदै पुल निर्माण कार्य अघि बढेको र दिर्घकालीन रुपमा पक्कि पुल निर्माणको लागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक समेत रहेका गिरीले असार महिना अगावै पुल सम्पन्न गर्ने गरी काम गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिएको समेत जानकारी गराए ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।
ब्रिज ५४ मिटर लामो हुने कम्पनीका सबओभरसियर सनम शाहीले बताए । पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तीन महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएको उनले बताए ।





