१४ जेठ, पर्वत । स्थानीय तहको कार्यकारिणी अधिकार कार्यपालिकामा रहेको हुन्छ । कार्यपालिकाले गरेका महत्वपूर्ण निर्णयहरु गाउँ सभाले भने अनुमोदन गर्नुपर्ने हुन्छ । गाउँ तथा नगरपालिका भित्र गर्ने सवै प्रकारका महत्वपूर्ण निर्णयहरु कार्यपालिकाकै वैठकहरुबाट हुने गरेका छन् ।
कार्यपालिकाको वैठक आवश्यकताका आधारमा बस्नेछ । संविधानले कार्यपालिकालाई स्थानीय तहको मन्त्रीपरिषद सरहको मान्यता दिएको छ । यो वैठकले गरेका निर्णयहरु सभासद्हरु रहेको नगर तथा गाउँ सभाले अन्तिम अनुमोदन गर्नुपर्ने हुन्छ । कार्यपालिकाले गरेका निर्णयहरु सुझाब सहित नगर तथा गाउँ सभाले अनुमोदन गर्नुपर्दछ ।
गाउँ तथा नगर कार्यपालिका वैठकहरु तथा नगर सभा सञ्चालन सम्बन्धि कार्य विधि भने स्थानीय तह अनुसार फरक फरक हुने गरेका छन । प्रदेश सरकारको आदेश बमोजीम स्थानीय तह आफैले आफ्नो कार्य विधि निर्माण गर्ने गरेका छन् ।
कार्यपालिकामा प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष स्वत सदस्य हुन्छन् ।
स्थानीय तहको कार्यपालिकामा निर्वाचित सवै वडाअध्यक्षहरु स्वत कार्यपालिका सदस्य हुन्छ । यस बाहेक नगरपालिकामा निर्वाचित वडा सदस्यहरुबाट ५ जना महिला सदस्य पुनः निर्वाचित गर्नुपर्नेछ भने वडा सदस्यहरु बाहेक पनि खुल्ला रुपमा दलित वा अल्पसंख्यकबाट ३ जना सदस्यलाई निर्वाचित गरी कार्य पालिका सदस्य बनाउनुपर्नेछ ।
यहि प्रयोजनका लागि ७ वटै स्थानीय तहहरुमा कार्य पालिका सदस्यहरुको निर्वाचनको मिति सार्वजनिक भईसकेको छ । यसरी सार्वजनिक भएको मिति अनुसार महाशिलामा नेकपा एमालेका सवै उमेदवारहरु सर्वसहमत चयन भईसकेका छन् । बाँकी पालिकाहरुमा निर्वाचन कार्य तालिका बमोजीम निर्वाचनको प्रक्रिया अघि बढेको छ ।
यसै वीच कुश्मा नगरपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र पैयू गाउँपालिकामा कार्य पालिका सदस्यहरुको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदैछ । निर्वाचित वडा सदस्यहरु मध्ये नगरपालिमा महिला ५ जनाको उमेदवारी दलहरुले दर्ता गर्नेछन भने खुल्ला रुपमा दलित वा अल्पसंख्यक कोटामा ३ जनाको उमेदवारी दर्ता हुँदैछ ।
गाउँपालिकामा भने महिला ४ जनाको उमेदवारी दलहरुले दर्ता गर्नेछन भने खुल्ला रुपमा दलित वा अल्पसंख्यक कोटामा २ जनाको उमेदवारी दर्ता हुँदैछ ।
यसरी दर्ता हुने मनोनयन उपर निर्वाचित जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । मतदान गर्दा सवै स्थानीय तहहरुमा एमालेकोे बहुमत संख्याका जनप्रतिनिधिहरु भएका कारण एमालेका उमेदवारले जित्ने लगभग निधो छ ।
यस अघि हिजो मात्रै महाशिला गाउँपालिकामा सवै कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भईसकेका छन् ।




