१४ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन सम्पन्न हुने चरणमा पुगेको छ । प्रत्यक्ष निर्वाचनद्धारा चुनिने जनप्रतिनिधिहरु निर्वाचित भईसकेका छन् । अव नगरपालिकामा कार्यपालिका गठनको तयारी हुँदैछ । प्रत्येक स्थानीय तहमा निर्वाचित भएका बहुमत सदस्यहरुले आफ्नो पालिकामा कार्यपालिका चयन गर्दछन् । यसरी चयन हुने कार्यपालिकामा प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष स्वत सदस्य हुन्छन् ।
यसैगरी निर्वाचित सवै वडाअध्यक्षहरु पनि स्वत कार्यपालिका सदस्य हुन्छ । यस बाहेक नगरपालिकामा निर्वाचित वडा सदस्यहरुबाट ५ जना महिला सदस्य पुनः निर्वाचित गर्नुपर्नेछ भने वडा सदस्यहरु बाहेक पनि खुल्ला रुपमा दलित वा अल्पसंख्यकबाट ३ जना सदस्यलाई निर्वाचित गरी कार्य पालिका सदस्य बनाउनुपर्नेछ ।
यहि प्रयोजनका लागि ७ वटै स्थानीय तहहरुमा कार्य पालिका सदस्यहरुको निर्वाचनको मिति सार्वजनिक भईसकेको छ । यसरी सार्वजनिक भएको मिति अनुसार महाशिलामा नेकपा एमालेका सवै उमेदवारहरु सर्वसहमत चयन भईसकेका छन् । बाँकी पालिकाहरुमा निर्वाचन कार्य तालिका बमोजीम निर्वाचनको प्रक्रिया अघि बढेको छ ।
यसै वीच कुश्मा नगरपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र पैयू गाउँपालिकामा कार्य पालिका सदस्यहरुको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदैछ । निर्वाचित वडा सदस्यहरु मध्ये नगरपालिमा महिला ५ जनाको उमेदवारी दलहरुले दर्ता गर्नेछन भने खुल्ला रुपमा दलित वा अल्पसंख्यक कोटामा ३ जनाको उमेदवारी दर्ता हुँदैछ । गाउँपालिकामा भने महिला ४ जनाको उमेदवारी दलहरुले दर्ता गर्नेछन भने खुल्ला रुपमा दलित वा अल्पसंख्यक कोटामा २ जनाको उमेदवारी दर्ता हुँदैछ ।
यसरी दर्ता हुने मनोनयन उपर निर्वाचित जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । मतदान गर्दा सवै स्थानीय तहहरुमा एमालेकोे बहुमत संख्याका जनप्रतिनिधिहरु भएका कारण एमालेका उमेदवारले जित्ने लगभग निधो छ । यस अघि हिजो मात्रै महाशिला गाउँपालिकामा सवै कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भईसकेका छन् ।




