२४ वैशाख, पर्वत । स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकिदै जाँदा आचार संहिता पालनामा कडाई गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्देशक बमोजीम प्रहरी प्रशासनले आचार संहिता पालनामा कडाई गरेको हो । आचार संहिता उल्लघन गरेर प्रचार प्रसार भईरहेको गुनासो आएपछि प्रहरीले यसको नियन्त्रण गरेको हो । बढि जसो सदरमुकाम कुश्मा बजारमा माइकिङ, मोटरसाइकल ¥याली र ठूला होडिङ बोर्डहरु राखेर प्रचार प्रसार हुने गरेको थियो ।
निर्वाचन कानूनले तोके विपतरितको प्रचार प्रसार हुन थालेपछि प्रहरीले त्यसको रोकथाम गरेको छ । सदरमुकाममा हुने गरेको माइकिङ बन्द गरिएको छ भने सार्वजनिक स्थानहरुमा र सवारी साधनहरुमा राखिएका झण्डा निकालिएको छ । मोटरसाइकल र्यालीमा समेत प्रतिवन्द लगाइएको छ । दलहरुले घरदैलो तथा कोणसभाहरु गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।
खास गरी पर्वतमा कांग्रेस नेतत्वको ५ दलीय गठबन्धन र नेकपा एमालेका वीचमा चुनावी प्रतिस्पर्धा हुँदैछ । जिल्लाका ७ वटा पालिका र ६१ वडाहरुमा एमाले आफ्ना उमेदवार उठकाएको छ भने, कांग्रेसले १४ पालिका प्रमुख र उपप्रमुख मध्ये ९ स्थानमा प्रमुख तथा उपप्रमुख उठाएको छ ।
माओवादी केन्द्रले ५ पदमा पालिका प्रमुख र उपप्रमुखका उमेदवार बनाएको छ भने एकिकृत समाजवादीले १ स्थानमा आफ्नो उमेदवार उठाएको छ ।
आगामी वैशाख ३० गते ७४ मतदान स्थलमा मतदान हुँदैछ ।




