Print

५ औं पटक फेरी उम्मेदवार, निरन्तरको जीत

२३ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उमेदवार फलेवास ४ मुडिकुवाका टिकाराम गौडेल ५ औं पटक निर्वाचन लड्दैछन् । ४ वडा निर्वाचनहरु लगातार जितेका गौडेल एमालेको तर्फबाट पुनः वडा अध्यक्ष पदको उमेदवार बनेका हुन् ।

२०७४ सालको निर्वाचनमा फलेवास ४ बाट विजयी गौडेल यस अघिका ३ वडा निर्वाचन जितेका थिए । २०४४ सालमा पहिलो पल्ट निर्वाचन लडेका गौडेलले तत्कालीन अवस्थामा काग्रेसको तर्फबाट उपप्रधान पदमा निर्वाचन लडेका थिए । दोस्रो पटक २०४९ सालमा गाउँ विकास समितिको उपाध्यक्ष पदमा पुनः उनले निर्वाजन जिते । तत्कालीन अवस्थामा पनि उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचन लडेका थिए ।

तेस्रो पटक भने उनले नेकपा एमालेको तर्फबाट उमेदवारी दिए २०५४ सालमा । तत्कालीन मुडिवा गाउँ विकास समितिको उपाध्यक्ष पदमा निर्वाचन लडेका गौडेल तेस्रो पटक पनि निर्वाचित भए ।

संघीयताको कार्यान्वयन संगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा पुनः उनी नेकपा एमालेकै तर्फबाट वडा अध्यक्षको पदमा निर्वाचन लडे । चौथो पटक २०७४ सालमा समेत निर्वाचन जितेका गौडेल अहिले ५ औें पटक पुनः वडाअध्यक्षको पदमा उमेदवार बनेका छन् ।

उमेरले ६२ बर्ष पुगेका गौडेल पर्वत जिल्लामा सवै भन्दा बढि पटक निर्वाचन जित्ने र उमेदवार बन्ने जनप्रतिनिधिमा पर्दछन् । उनीसंग अहिले गठबन्धनको तर्फबाट कांग्रेसका अचुत तिवारी निर्वाचन लड्दैछन् । गौडेल भने निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । उनले जनताको अपार माया आफूसंग रहेको तर्क गर्छन् । ‘गाउँले सवैको भलाई हुने काम गरेको छु, सुःख दुःखमा साथी बनेको छु । निर्वाचन यसै पनि जित्छु ।’ गौडेलको तर्क छ ।