२ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा ५ बाजुङको पातिचौर बजार देखि बाजुङ हुँदै क्याङ जोड्ने सडक कालोपत्रेको प्रक्रिया शुरु भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रेको लागि २ बर्ष अघि निर्णय भएको सडकको कालोपत्रेको लागि प्रक्रिया शुरु भएको हो ।

ग्रामीण पूर्वाधार विभाग मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको कार्यालय मार्फत उक्त सडकको कालोपत्रेको लागि प्रारम्भिक वातावरणीय परिक्षणको काम अहिले भईरहेको छ । योजनाको लागत स्टिमेटको डिपिआर तयार भएपछि सडक निर्माण पूर्व गरिने वातावरणीय परिक्षणको कामको शुरुवात भएको हो ।
वातवरणीय परिक्षणको लागि आयोजनाले सुचना जारी गरी आयोजनाका लाभान्वित समुदायका वीचमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । मोदी ४ क्याङको गुरुङ गाउँ आधारभूत प्राविमा चैत ७ गते र ८ गते बाजुङको वडा कार्यालयमा सार्वजनिक सुनुवाईको कार्यक्रम रहेको छ ।
सडक कालोपत्रे गर्नका लागि यस अघि नै आरसिआइपी कार्यक्रम मार्फत निर्णय भइसेकेको छ । जिल्लाका अन्य ७ वटा सडकहरुसंगै यो सडक पनि निर्माणको लागि कार्यक्रममा निर्णय भएको हो ।
यस बाहेक मिलन चोक लेकफाँट साजिला नागी सडकको पनि निर्माण कार्यको चरण अघि बढेको छ । डिपिआर कार्य सकिएको उक्त सडकको प्रारम्भिक वातावरणीय परिक्षण लगतै ठेक्का प्रक्रियामा जाने आयोजनाले जनाएको छ ।




