३ चैत, पर्वत । स्थानीय तहको निर्वाचन आउन करिब २ महिना मात्र बाँकी छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुख्य गरी पर्वत जिल्लामा दुई दल वीच नै प्रतिस्पर्धा हुनेछ । नेकपा एमाले र कांग्रेस ठूलो शक्तिको रुपमा रहेको हुँदा दुई दलका वीच हुने निर्वाचनको परिणाम कस्तो हुन्छ अहिल्यै आकलन गर्न भने सकिँदैन् । यद्यपि निर्वाचनको सन्दर्भमा आकाक्षीहरुको भने लर्को नै लागेको छ । मुख्य गरी यस अघिको निर्वाचनमा विजयी हासिल गरेका गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उप प्रमुखहरु मध्ये अधिकांश निर्वाचनमा पुनः उमेदवार बन्न इच्छा ब्यक्त गरेका छन् ।
विजयी भएपछि आफ्नो भूगोलमा कतिकाम गरे त्यसको मूल्यांकन निर्वाचनमा हुनेनै छ तर पनि निर्वाचनमा यस अघि विजयी भएकाहरुको इच्छा निर्वाचनमा पुनः उमेदवार बन्ने रहेको देखिन्छ ।
जिल्लाको दुई वटा नगरपालिका मध्ये कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी नेपाली कांग्रेसबाट निर्वाचन जितेका जनप्रतिनिधि हुन् । जोशीको इच्छा निर्वाचनमा पुनः उठ्ने र कार्यपालिकामा बहुमत सहितको नेतृत्व हासिल गर्ने देखिन्छ । जोशी निकट श्रोतले पाटीमा उनले पुनः निर्वाचनमा उठ्ने इच्छा जाहेर गनसक्ने बताउँछ । नगरप्रमुख वा प्रदेश सांसदका आकाक्षी जोशी निर्वाचनमा पुनः उमेदवार बन्ने विषयमा कांग्रेस वृतमा छलफल चल्न थालेको छ । जोशी कांग्रेसको प्रदेश कमिटिका उप महामन्त्री हुन् ।
उता, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा नेकपा एमालेबाट निर्वाचन जितेका जनप्रतिनिधि हुन् । कार्यपालिकामा दुई तिहाइ बढि बहुमतका साथ निर्वाचन जितेका शर्मा पनि नगरप्रमुख पदमा पाटीले पुनः टिकट दिए दोहोरिने सोचमा छन् । प्रदेश सभा या नगरप्रमुख मध्ये एक पदमा निर्वाचनमा उमेदवारका आकाक्षी बन्ने दाउमा रहेका शर्माले नगरप्रमुखलाई प्राथमिकतामा राखेर निर्वाचन लडन् चाहेका छन् । शर्मा नेकपा एमाले पर्वतका उपाध्यक्ष हुन् ।
जिल्लाका ५ वटा गाउँपालिका मध्ये जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल नेपाली कांग्रेसबाट निर्वाचन जितेका जनप्रतिनिधि हुन् । नेपाली कांग्रेसको भरखरै सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजीत मल्लको भित्री इच्छा संसदीय राजीतिमा प्रवेश गर्न चाहेको देखिए पनि उनी निकटहरुले भने मल्ल नै गाउँपालिकाको पुनः उमेदवार बन्नसक्ने बताउँदै आएका छन् । गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य सहित मल्लले निर्वाचन जितेका थिए ।
जिल्लाको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल नेकपा एमालेको तर्फबाट दुई तिहाई बहुमतको कार्यपालिका सहित विजयी भएका जनप्रतिनिधि हुन् । पौडेलले पछिल्लो समय पुनः अध्यक्ष पदमा निर्वाचन लडन् चाहेको इच्छा ब्यक्त गर्न थालेका छन् । उनी एमालेको प्रदेश कमिटि सदस्य हुन् ।
यसैगरी जिल्लाको पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी कांग्रेसबाट दुई तिहाई बहुमत सहितको नेतृत्व सम्हालेका छन् । तिवारी पनि संसदीय राजनीतिमा प्रवेश गर्ने चाहना राखे पनि त्यो सम्भव नहुने भए पुनः अध्यक्ष पदमा नै दोहोरिन सक्ने उनी निकट श्रोत बताउँछ ।
विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल एमालेको तर्फबाट निर्वाचन जितेका हुन् । कार्यपालिकामा अल्पमतमा रहेका भुषालले पनि पाटीले विश्वास गरी पुनः टिकट दिएमा निर्वाचनमा उठ्न सक्ने संकेत गरेका छन् । उनले पाटी कमिटिमा आफ्नो दावा रहने तर पाटीको निर्णय मान्ने बताउँछन् ।
उता, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल भने भरखरै सम्पन्न एमालेको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा निर्वाचीत भएका छन् । जिल्ला भर निर्वाचनको कमाण्ड गर्नुपर्ने भएका कारण उनको इच्छा स्थानीय तहमा भने खासै नदेखिएको उनी निकट श्रोत बताउँछ । पौडेल बाहेक जिल्लाका ६ स्थानीय तहका प्रमुख र अध्यक्षहरु नै आगामी निर्वाचनका आफ्नै पदको आकाक्षीको रुपमा रहेका छन् ।
उनीहरु बाहेक उनीहरु निकट पाटीका आधा दर्जन बढि नेताहरु आफ्नो आफ्नो स्थानीय तहमा उमेदवारको आकाक्षी रहेका छन् । आकाक्षीहरुको चाहना र विवरण क्रमशः स्थानीय तह निर्वाचन विशेषमा हामीले प्रस्तुत गर्दै जानेछौं ।
गत निर्वाचनमा नेकपा एमालेले ४ वटा स्थानीय तह र नेपाली कांग्रेसले ३ वटा स्थानीय तहमा निर्वाचन जितेको थियो । आगामी निर्वाचनमा पनि सवै पालिकाहरुमा दुवै पाटी वीच प्रतिस्पर्धा हुने देखिन्छ ।




