१० फागुन, पर्वत । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई ब्यक्तिलाई पर्वत प्रहरीले पक्रेको छ । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पर्वत जिल्लाको महाशिला गाउँपालिका २ भोक्सिङका रिमबहादुर हमाल र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ५ का तुलाराम नाम्जाली मगरलाई पक्राउ गरेको हो ।
हमाललाई नक्कली प्रमाणपत्र तयार गर्ने पसल तथा मगरलाई काठमाण्डौबाट पोखरा आउने क्रममा पोखरा बिमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक समेत गरेको छ ।
हमाल र मगरले पोखरामा रहेको भुपु सैनिक अनलाईन सेवा नामको पसलमा नै बिभिन्न बिद्यालय तथा एसइइ परिक्षाका नक्कली प्रमाणपत्रहरु तयार गर्दै आएका थिए ।
उनीहरुले १ लाख २५ हजार रुपैया लिएर एक सेट एसइइ परिक्षाका प्रमाणपत्रको सेट नै बिक्री गर्दै आएको जिल्ला प्रहरी कार्याल पर्वतका प्रमुख डिएसपी बुढाथोकीले जानकारी दिए । अभियुत्तहरुले ५ बर्ष भन्दा पहिले देखि यस्तै नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र बिक्री गर्दै आएको पाइएको छ । प्रहरीले बिभिन्न बिद्यालयको नामका तथा ब्यक्तिका तयारी प्रमाणपत्र तथा प्रमाणपत्र तयार गर्न प्रयोग गरिएका कम्युटर, प्रिन्टर लगायतका प्रमाणपत्र समेत बरामद गरेको छ । यस बाहेक प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय लमजुङको स्टयाम्प प्याड समेत बरामद गरेको छ ।
अभियुक्तहरुले खासगरी भारतीय तथा बेलायती सेनामा भर्ती हुने युवाहरुलाई उमेर घटाएर शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरेको पाइएको छ । भर्ती हुनेहरुका लागि प्रशिक्षकको काम गर्दै आएका अभियुक्त मगरले पटक पटक भर्ती हुन असफल भएका युवाहरुलाई उमेर पुगेपछि फेरी नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा उमेर घटाएर नागरिकता बनाउन सहयोगी बन्दै आएको अनुसन्धानबाट खुलेको छ ।
पर्वतको कुस्मा नगरपालिका ११ का आशिष केसीले पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रका आधारमा दोस्रो पटक नागरिकता बनाएको भेटिएपछि उनका नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहको खोजीका क्रममा अभियुक्तहरुलाई पक्रन प्रहरी सफल भएको बुढाथोकीले जानकारी दिए । प्रहरीले नक्कली कागजात बनाउने र बिक्री गर्ने अन्य गिरोहको समेत खोजी गरिरहेको छ ।




