१० फागुन, पर्वत । प्रतिनिधि सभाका सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले सरकारमै बसेर सरकारको विरुद्ध आन्दोलन गर्नु अराजनैतिक चरित्र भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र र समाजवादी सरकार नछोड्ने तर सरकारकै विरोध गर्ने गरेको कुरा उल्लेख गर्दै उनले सरकारले गरेको कामको विरुद्धमा भए सरकारबाट बाहिरिनु पर्ने टिप्पणी गिरीले गरेका हुन् ।
एमसिसिको विषयमा गठबन्धन भित्र साझा धारणा नआउने तर सरकारले टेवल गरेको विषयमा आन्दोलन गर्नुलाई उनले दोहोरो चरित्रको संज्ञा दिए । कार्यकर्तालाई आन्दोलन गराउन लगाएर सरकार नछोडनु सत्ता मोह भएको उल्लेख गर्दै उनले गठबन्धनका कारण देश थप समस्यामा पर्दै गइरहेको दावी गरे । पर्वतको कुश्मा नगरपालिका वडा न ३ मा नेकपा एमालेको वडा भेलालाई सम्बोधन गर्दै उनले समयमा चुनाव हुन नदिने वर्तमान सरकारले अनेक प्रपन्च रचीरहेको समेत बताए । चुनावबाट कोहि पनि भाग्न नहुने भन्दै निर्वाचनको विकल्पमा सडक आन्दोलन वा अरु वहाना देखाउन नहुने गिरीको भनाई छ ।
अर्को फरक प्रशंसमा गिरीले आगामी निर्वाचनमा एमालेलाई भारी मत दिएर विजय गराए मात्र पर्वत जिल्लामा सम्बृद्धिको खाका अघि बढ्ने उनले बताए । वितेको ४ बर्षको अवधिमा एमालेकै नेतृत्वमा जिल्लामा निकै ठूलो विकासको कामहरु अघि बढेको भन्दै उनले आगामी निर्वाचनबाट ति योजनाहरु पुरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, पाटी जिल्ला अध्यक्ष राजु पौडेल, जिल्ला सचिव गोविन्द पहाडी, जिल्ला सदस्य इश्वर गिरी, नगर कमिटि अध्यक्ष मिनप्रसाद श्रेष्ठ, सचिव गणेश पौडेल, अनेमसंघ नगर कमिटि अध्यक्ष अम्बिका शर्मा लगाएतले समसामयीक राजनैतिक विषयमा आफ्नो धारणा राखेका थिए ।




