१७ माघ, पर्वत । पर्वत अस्पतालको ३२औँ स्थापना दिवसको अबसरमा आइतवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । अस्पताल व्यवस्थापन समितिको आयोजनामा अस्पताल परिसरमा सरसफाई, बिरामीहरुलाई फलफुल वितरण तथा उनिहरुको समस्या सुन्ने कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी आयोजित समारोहलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले भर्चुअल माध्यमबाट विशेष सम्बोधन गर्नुभएको छ । सो अवसरमा राज्यमन्त्री खापुङले कोरोनाको संख्या बढ्दै गएका बेला अस्पतालका सेवा सुविधालाई चुस्त र प्रभाकारी बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले सरकार सवै अस्पतालमा औषधी र उपकरण पर्याप्त होस् र नागरिकहरुले उपचारबाट बञ्चित हुन नपरोस भन्ने कुरामा संवेदनशिल रहेको भन्दै सोहि अनुसार पर्वत जिल्ला अस्पतालबाट सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु गोबिन्द पहाडी, राधाकुमारी कुँवर क्षेत्री, शिव पौडेललाई सम्मान गरिएको छ । त्यसैगरी अस्पतालमा कार्यरत उत्कृष्ट चिकित्सक निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।डिवि क्षेत्री लगायत कर्मचारी र स्वास्थ्यकमीहरुलाई पनि सम्मान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
अस्पताल व्यवस्थापनका लागि पूर्व अध्यक्षहरुको नेतृत्वदायी भूमिकाबाटले नै अस्पतालको सर्वाङ्गीण विकासमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको अध्यक्ष गिरीले बताउनुभयो । त्यसैगरी अस्पतालको सेवा प्रवाहमा योगदान गर्ने उत्कृष्ट कर्मचारीहरुलाई पनि उहाँहरुको थप सक्रियता र मनोवल विकासका लागि सम्मान गरिएको उहाँको भनाई रहेको छ ।




