१४ माघ, पर्वत । विगत ४ महिना देखि ब्यवस्थापन समिति विहिन रहेको पर्वत अस्पतालमा नयाँ ब्यवस्थापन समितिले पदभार ग्रहण गरेको छ । आज एक कार्यक्रमका वीच अध्यक्ष शंकर गिरी सहितको नयाँ समितिले पदभार ग्रहण गरेको हो । अस्पतालमा आयोजीत एका कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको उपस्थितीमा अस्पताल ब्यवस्थापन समितिले पदभार सम्हालेको छ ।
कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख पौडेलले अस्पताललाई जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्न सुझाब दिए । विरामी आएपछि उनीहरुको उपचार गर्ने काम नै अस्पताललको पहिलो दायित्व र धर्म भएकाले ब्यवस्थापन समितिले सोहि अनुसारको वातावरण बनाउनुपर्ने धारणा राखे ।
नयाँ ब्यवस्थापन समितिलाई स्वागत गर्दै अस्पतालका निमिक्त प्रमुख डा. डिवि क्षेत्रीले अस्पतालका समस्या र सवल पक्षहरुको बारेमय जानकारी गराएका थिए । पदभार ग्रहण गरेपछि अध्यक्ष गिरीले अस्पतालमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै अस्पतालमा आउने विरामीलाई सन्तुष्ट बनाउने गरी उपचार प्रदान गर्ने वातावरणको सृजना गर्ने उनले बताए । विरामीको उपचार गर्ने स्वास्थ्यकर्मीहरु भएकाले उनीहरुको समस्या समाधान गर्ने, काम गर्न उत्साहित गर्ने र श्रोत साधनहरुको उपलब्धतामा आपूmहरुले ध्यान दिने अध्यक्ष गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अस्पताल सुधारका लागि थप कार्य योजना ब्यवस्थापन समितिको वैठक पछि सार्वजनिक गर्ने बताउँदै अध्यक्ष गिरीले अस्पताल सवैको साझा सम्पत्ति भएकाले यसको ब्यवस्थापन सुधार गर्न सवै सरोकारवालहरुको समान दायित्व हुने समेत औल्याए ।
कार्यक्रममा निर्वतमान अध्यक्ष गोविन्द पहाडीले हालसम्म अस्पतालमा शुरु भएका नयाँ कामहरुलाई संस्थागत गर्दै अस्पतालको साखलाई जोगाउने गरी नयाँ समितिले काम गर्नुपर्ने सुझाब ब्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे लगाएतको उपस्थिती थियो । नयाँ पदभार ग्रहणमा नयाँ सदस्यहरु तारा पराजुली, परशुराम पुरी र भगवती शर्माले समेत पदभार ग्रहण गरेका छन् । बाँकी सदस्यहरु कुश्मा नगरपालिकाका प्रमुख र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था रहेको छ ।




