१३ माघ, पर्वत । जिल्लाको कुश्मा बजारमा द हार्नेस जीपलाईन प्रालिले विश्वकै दोस्रो लामो जीप फ्लाईनमा सुपरमेन जीप प्लाईनको सुविधा शुरु गरेको छ । विगत १ महिना अघि देखि ब्यवसायीक सञ्चालनमा रहेको उक्त कम्पनीले सुरक्षाको सत् प्रतिशत ग्यारेन्टी सहितको सुपरमेन जीप प्लाईनको सेवाको शुरुवात गरेको हो ।
कम्पनीले कुश्मा नगरपालिका–५ चाक्लेडिलदेखि १४ सय मिटर पर कालीगण्डकी नदी किनारमा रहेको साउने बगरमा ल्यान्ड’ हुने जिपलाइनको ब्यवसायीक रुपमा सञ्चालन गरेको छ ।
कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार १४ सय ८० मिटरको दूरी पार गर्दा कालीगण्डकी नदीलाई २ पटकसम्म क्रस गर्न सकिन्छ । बस्नेतका अनुसार २ जनाले एकै पटकमा जीप लाईनको मजा लिनसक्छन् । अमेरिकन कम्पनी हेड रुसको जिप्सट ब्रेकिङ सिस्टमलाई पहिलो पटक प्रयोग गरेर कम्पनीले जीप प्लाईनको शुरुवात गरेको हो ।
जीपलाईनमा प्रयोग भएका सवै सामाग्रीहरु अमेरिकन कम्पनी हेड रुसको रहेका छन् । पूर्ण सुरक्षित मानिएको उक्त जीपलाईनमा प्रयोग भएका सामाग्रीहरु क्षमता १७ टनसम्मको प्रमाणित क्षमता रहेको कम्पनीका सञ्चालक बस्नेतले जानकारी दिएका छन् ।
‘कालीगण्डकीको सतहको २५० मिटरमाथिबाट जिपलाइनको टेक अफ हुन्छ, दुई ठाउँमा कालीगण्डकी क्रस हुन्छ, अन्यत्रका जिपलाइनमा यस्तो खालको आकर्षण छैन’ उनले भने, ‘अब पर्वतमा पर्यटकहरुको भीड लाग्दै जानेछ, मुस्ताङ आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई यी खेलहरूले आकर्षण गर्नेछन् ।’
कम्पनीका सचिव सुनिल बानियाँका अनुसार पवित्र धार्मिक नदी कालीगण्डकीको सतहलाई दुई ठाउँबाट क्रस गर्न सकिने, नदीकै किनारमा अत्याधुनिक सुविधासहितको रिपोर्ट, कालीगण्डकीमा जेटस्की, सिसाको पुललगायतका साहसिक खेलको तयारी समेत अन्तिम चरणमा पुगेकाले पर्वतको जिपलाइनलाई एसियाकै आकर्षकमध्येको एउटामा राख्न सकिन्छ ।
क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।
विग ब्उटर कम्पनीका इन्जिनियर सञ्जय सिंह्का अनुसार सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाइ छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी तथा युवा ब्यवसायीहरु विदुर पौड्याल, सुनिल बाँनिया, राजकुमार बस्नेत, सागर जोशी, सूर्यबहादुर क्षेत्री र नरेन्द्र केसीको करिब १५ करोडको लगानीमा जिपलाइन निर्माण भएको हो ।




