६ कार्तिक, पर्वत । मोदी गाउँपालिका वडा नं ५ बाजुङको आम्वोटमा निर्मित सामुदायिक सेवा केन्द्रको नव निर्मित कार्यलय भवन उद्घाटन गरिएको छ ।
सोहि अवसरमा ब्याडमिन्टन कभर्डहल को शिलान्यास तथा सामुदायिक सेवा केन्द्रको अधिवेशन समेत उद्घाटन गरिएको छ । भवनको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र प्रतिनिधि सभा सदस्य पदम गिरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै सभामुख अधिकारीले पर्वत जिल्लामा विकास निर्माणका दृष्टिकोणले पछिल्लो चार वर्षमा ठुलो परिवर्तन आएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुको एकता र सक्रियताका कारण विकासले फड्को मार्दै गएको बताउँदै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि सुरक्षा निकाय र नागरिकहरुबीच सँधै सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले मुलुकमा ठुलो राजनीतिक परिवर्तन भएपनि अझै स्थिरता, शान्ति र सुशासन कायम हुन नसकेको बताउँनुभयो । उहाँले पर्वत जिल्लाका कुना कुनामा विकास निर्माणको लहर फैलीदै गएको बताउँदै समृद्ध पर्वतका लागि आफु निरन्तर सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाको समग्र विकासका निम्ति विशेष योजनाका साथ काम गरिरहेको बताउनुभयो । भवन निर्माण समितिका अध्यक्ष कृष्णबहादुर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सम्पन्न अधिवेशनले सिताराम बिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा भवन निर्माण सम्पन्न गर्न सहयोग पुर्याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।




