Print

मध्य पहाडी लोकमार्गको कुश्मा बजार क्षेत्रमा सडक अलपत्र पारेको भन्दै स्थानीयको विरोध

५ असोज, पर्वत । मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको कुश्मा बजार क्षेत्रको सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणधिन लोकमार्गको कुश्मा बजार क्षेत्रमा सडक निर्माणको काम एक तर्फी भए पनि अर्को तर्फ अलपत्र परेको छ । लामो समयसम्म एक तर्फी मात्र सडक निर्माण गरेको कम्पनीले सडक निर्माणमा ढिलाई गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।


‘चाडपर्व आउन लाग्यो, ब्यवसाय गर्नेहरुलाई मार परेको छ’ स्थानीय सिता गिरी भन्छिन–‘सडक एकतर्फी निर्माण गरेर अर्को तर्फ अलपत्र पारिएको छ ।’ मानिसको आगमनमा समेत असर पर्ने गरी सडक अलपत्र पारेपछि स्थानीयले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र निर्माण ब्यवसायीको ध्यानाकर्षण गराएका छन् ।

बजार क्षेत्रको सडक लामो समयसम्म अवरुद्ध हुँदा ब्यापार ब्यवसाय चपौट भएको स्थानीय ब्यवसायीहरुको आरोप छ । आयोजनाले एक तर्फी सडक निर्माण सम्पन्न गरे पनि अर्को लेन अलपत्र छोडेको छ ।

आयोजनाको पर्वत खण्डको अधिकांश काम सकिए पनि बर्षातका कारण अधिकांश ठाउँमा भने पहिरो गएको छ ।