Print

सरकारी दमन प्रति निजामति कर्मचारी संगठन पर्वतको आपत्ति

५ असोज, पर्वत । नेपाल निजामती कर्मचारी संगठन पर्वतले कर्मचारी गिरप्तार र सरकारी दमन प्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट निजामति कर्मचारी संगठन पर्वतले आफ्नो केन्द्रिय नेतृत्वहरुको गिरप्तारी र कार्यालयमा गरिएको दमन प्रति आपत्ति जनाएको हो ।

एमाले विभाजन पछि कर्मचारी संगठन पनि विभाजनको दिशामा गएको बेलामा केहि कर्मचारीहरुले आधिकारिक निजामति कर्मचारी संगठनलाई कब्जा गर्न खोजेको र त्यसमा सरकारले पनि सहयोग गरेको आरोप निजामति कर्मचारी संगठनको छ ।

संगठनका जिल्ला सचिव गौरबदास वैरागीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ– आश्विन ४ गते संगठनको केन्द्रीय कार्यालय बबरमहलमा काम गरिरहेको अवस्थामा केहि अराजक झुण्डहरुले संगठन केन्द्रीय कार्यालयको मुल गेटमा लँत्ती, मुडकी र ढुङ्गा प्रहार गरि संगठनको झण्डा र व्यानर च्याती अमर्यादित, अनुशासनहिन र अशोभनीय कु–कार्य प्रति घोर भत्र्सना गर्दछौं ।

संगठनका जिल्ला सचिव वैरगाीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उक्त अपराधिक गतिविधि प्रस्तुत गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कडा कारबाहीको लागि यस पर्वत जिल्ला कार्यसमिति जोडदार माग गर्दछ भनिएको छ । संगठन भित्र बौद्धिक बहस गरि संगठनको श्रीवृद्धिमा लाग्नुको सट्टा अमर्यादित कार्यमा लागि अगाडि बढनुले उनीहरु विचारमा स्खलित भई कुण्ठाले विक्षिप्त भएको प्रष्ट देखिएको छ संगठनको ठहर छ ।

कार्यालयमा नियमित काम गरिरहेको अवस्थामा संयोजक केदार प्रसाद देवकोटा तथा सह–संयोजक लेखनाथ कोइराला लगायत एक सय भन्दा बढी संगठक तथा कर्मचारीहरुलाई प्रशासनले बिना कारण धरपकड गरि प्रहरी हिरासतमा लिने कार्यको घोर भत्र्सना र निन्दा समेत विज्ञप्तिमा गरिएको छ ।

पेशाकर्मी माथि बिना कारण गरिएको प्रहरी दमन ट्रेड युनियन अधिकार माथिको ठाडो आक्रमण रहेको संगठनको ठहर छ । नेपाल निजामती कर्मचारी संगठनको आचारभित्र रहि काम गर्न हामी सधै प्रतिवद्ध रहेको र आचार बाहिर गई किर्ते, जालसाझी र बलमिचाई गरिएको भन्दै संगठनको मर्यादामा आच आउने काम गर्ने जो कसैलाई कानुनी कारबाहीमा ल्याउन संगठनले माग गरेको छ ।