२२ भदौ, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पहिरोका कारण विगत ५ दिन देखि बन्द छ । अविरल बर्षातसंगै पर्वत खण्डका विभिन्न भागमा गएको पहिरोका कारण यातायात सेवा बन्द भएपछि यो क्षेत्रमा आयात पूर्ण रुपमा प्रभावित भएको छ ।

आयात प्रभावित हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा भित्रने सवै सवारी साधनहरु अलपत्र परेका छन् । सवारी साधनहरु अलपत्र परेसंगै खाद्यन्न र इन्धनको आयात पनि रोकिएको छ । बाटो खुलाउने प्रयास भइरहे पनि मंगलबार साँझसम्म पनि एकतर्फी सडक खुल्न सकेन ।
कुश्मा देखि भ्यालेसम्मको पहिरो हटे पनि भ्याप्ले खण्डमा ठूलो पहिरो गएका कारण त्यहाँ बम विस्फोट गर्नुपर्न भएको हो । मंगलबार बम विस्फोट गरिएको छ । मंगलबारको विस्फोटले पहिरो विस्थापीत गर्ने कार्यको प्रगति अपेक्षाकृत भएन् । बमको प्रभाव कम भएका कारण पुनः बुधवार बम विस्फोटको तयारी गरिएको छ । ठूलो पहिरो गएका कारण पहिरो हटाउनका लागि अन्य विकल्प नभएपछि बम विस्फोट गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि कुश्मा ज्ञादी झोलुंगे पुल तरेर कटुवाचौपारी कार्किनेटा हूँदै जाने सडक प्रयोग गरेर कतिपयले यात्रा गरेका छन् । अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि सोहि रुट प्रयोग गरिएको पर्वत अस्पतालले जनाएको छ ।
सडक अवरुद्ध हुँदा पर्वत लगाएतका धौलागिरी क्षेत्रका सवै जिल्लामा पेट्रोल र डिजेलको आयात ५ दिन देखि भएको छैन् । कतिपयले सडक लामो समय नखुल्ने भएका कारण स्टक पनि गरेका कारण इन्धनको अभाव हुन थालेको छ । सडक एकतर्फी खुलेमा आयात तत्काल सहज हुनेछ । अहिले धौलागिरी क्षेत्रका सवै जिल्लामा तरकारीको मूल्य पनि बढेको छ ।




