Print

पर्वतमा निषेधाज्ञाको १ महिना पुरा : ४२ को मृत्यु, ११ सयमा संक्रमण

१७ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भए पछि जारी भएको निषेधाज्ञाको एक महिना पुरा भएको छ । वितेको ३० दिनमा संक्रमणको दर भने क्रमशः उकालो लागेको नै देखिन्छ । पहिलो लहरमा निकै कम प्रभावित देखिएको जिल्लामा दोस्रो लहर शुरु भएपछि भने संक्रमण दर उच्च भएको छ ।
पहिलो लहरमा ३ जनाको मृत्यु भएको पर्वतमा दोस्रो लहरसम्म आइपुग्दा मृत्यु बढेर ४२ जना पुगेको छ ।

यो अवधिमा ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिएका छन् । संक्रमणको दर क्रमशः उकालो लाग्दै गएको तथ्यांकले देखाउँछ ।

जिल्लामा मृत्यु हुनेको दर देश भरकै उच्च रहेको छ । यो अवधिमा ४ सय २३ जनाले भने कोरोना जितेका छन् ।

मृत्यु हुनेमा सवैभन्दा बढि कुश्मा नगरपालिकामा सवैभन्दा धेरै १६ जनाको मृत्यु भएको छ । जलजला गाउँपालिकामा १३ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

पैयू गाउँपालिकामा ४ जना फलेवास नगरपालिकामा ३ जनाले यो अवधिमा संक्रमणका कारण ज्यान गुमाएको तथ्यांक स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मोदी गाउँपालिकामा ३ महाशिलामा २ र विहादी गाउँपालिकामा १ जनाले संक्रमणबाट ज्यान गुमाएको सुचना अधिकारी भण्डारीले जानकारी दिए ।