Print

पर्वतका कोरोना संक्रमण : बजारमा घट्यो, गाउँमा बढ्यो

१० जेठ, पर्वत । जिल्लामा यति बेला निषेधाज्ञा कायम रहे पनि संक्रमणको फैलावटमा भने कमी आएको छैन् । प्रत्येक दिन मृत्यु र संक्रमीतहरुको विवरण सार्वजनिक भईरहेका छन् । जिल्ला सदरमुकाममा ३ साता देखि र जिल्ला भर २ साता देखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाका वीच अहिले पनि संक्रमीतहरुको दरमा भने कमी आएको छैन् । पछिल्लो तथ्यांक अध्ययन गर्दा सदरमुकाम कुश्मा बजार भन्दा गाउँहरुमा संक्रमण बृद्धि भइरहेको देखिन्छ । पालिकाहरुले वडा गत रुपमा गरीरहेको स्वाब संकलनको अवस्था हेर्दा संक्रमीतहरु गाउँमा नै धेरै देखिएका छन् ।

संक्रमणको पछिल्लो तथ्यांक फलेवास नगरपालिकामा सार्वजनिक भएको छ । नगरप्रमुख पदमपाणी शर्माका अनुसार एउटै गाउँमा २६ जनासम्म संक्रमीत फेला परेका छन् । फलेवासका देविस्थान गाउँमा यत्ति धेरै संक्रमीत फेला परेका हुन् । नगर क्षेत्र भित्र कुल ५८ जनामा संक्रमण पुष्टि भएको छ । एउटै गाउँमा ठूलो संख्यामा संक्रमीत देखिनुले संक्रमण गाउँका धेरै बस्तीहरुमा फैलिएको सहज अनुमान गर्न सकिने नगरप्रमुख शर्माको भनाई छ ।

जिल्ला सदरमुकाम कुश्मा बजारमा निषेधाज्ञाको पहिलो सातामा देखिएको दर अहिले न्यून देखिएको छ । विरामी हुने र लक्षण सहितका संक्रमीत भेटिएको सदरमुकाम कुश्मा बजारमा भने अहिले संक्रमीतहरुको संख्यामा कमी आएको छ ।

हिजो मात्रै कुश्मा नगरपालिकाको दुर्लुङ गाउँमा पनि केहि संक्रमण पुष्टि भएको थियो । मुख्य गरी कुश्माको पाङ, खुर्कोट क्षेत्र र जलजलाको माझफाँट क्षेत्र बढि प्रभावित भएको देखिन्छ ।

एउटै गाउँमा मृत्यु हुनेको संख्या पनि ति क्षेत्रहरुमा धेरै छ भने संक्रमण पुष्टि हुनेको संख्या पनि ति ठाउँहरुमा अधिक देखिन्छ । परिक्षण भएका १ सय २ जना मध्ये फलेवासमा ५८ जनामा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

मोदी गाउँपालिकामा भने ठूलो संख्यामा संक्रमण पुष्टि नभए पनि औसतमा संक्रमीतहरु गाउँघरमा रहेको गाउँपालिकाका प्रवक्ता बिमल लामिछाने बताउँछन् ।
जिल्लाको दक्षिणी क्षेत्रका पैयू, महाशिला र विहादीमा पनि संक्रमीतहरु भेटिने क्रम जारी रहेको त्यहाँका सुचना अधिकृतहरुले बताईरहेका छन् ।