Print

कोरोना महामारीको सामना सवै मिलेर गरौं : सांसद गिरी

५ जेठ,पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले कोरोना प्रकोपको महामारीको सामना सवै मिलेर गर्नु आब्हान गरेका छन् । अस्पताहरुमा स्वास्थ्य सामाग्रीको अभाव भएपछि विभिन्न निकायसंगको समन्वयमा स्वास्थ्य सामाग्री पर्वत जिल्लामा भित्राएका सांसद गिरीले महामारी र प्रकोपहरुको सामना गर्न सवैको एक्यबद्धता हुनुपर्ने बताएका हुन् ।

महामारीको प्रकोपका कारण नेपाली जनताले निकै सास्ती बेहोरीरहेको उल्लेख गर्दै उनले प्रकोपको बेलामा सवैको साथ र सहकार्य भएन भने यससंग जुध्न गाहे हुने उनले बताए । एउटै निकाय, ब्यक्ति वा संस्थाको एकल प्रयासमा महामारी नियन्त्रणमा नआउने उल्लेख गर्दै राष्ट्रिय विपद्मा सवै जनप्रतिनिधि र नागरिक समाज मिलेर अघि बढ्नुपर्ने धारणा गिरीको थियो ।

संविधानमा सवै नागरिकलाई आधारभूत निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा उल्लेख भएपनि सरकारले अझै पनि सवै नागरिकलाई निशुल्क स्वास्थ सेवा उपलब्ध गराउन नसक्नु दुःखत रहेको गिरीको भनाई छ । महंगो शुल्क तिरेर नागरिकले अझै पनि स्वास्थ्य सेवा लिन पर्नु विडम्बना रहेको भन्दै राज्यले यसबारे ठोस काम गर्न आवश्यक रहेको उनले बताए ।

जिल्लामा रहेको अस्पतालमा थप सुविधा र सेवाहरुको विस्तार गरी सकभर जिल्लामै विरामीका लागि विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आफ्नो ठाउँबाट पहल गर्ने र यस विषयमा सवैको सहयोग र साथ मिल्नुपर्ने सांसद गिरीको भनाई छ ।

सांसद गिरीले मंंगलबार पर्वत अस्पतालका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका छन् । जिल्लाको सुदुर दक्षिण क्षेत्र र पालिकाहरुका आइसोलेसनहरुमा पनि स्वास्थ्य सामाग्रीको अभाव रहेको जानकारी आएको भन्दै अरु दातृ संघसंस्था तथा निकायहरुसंगको सहयोगमा ति संस्थाहरुमा पनि सामाग्री उपलब्ध गराउने गिरीको भनाई छ ।

कोरोना संक्रमणको पहिलो चरणको महामारी शुरुवात भए लगतै आफ्नो सांसद पदको ३ महिनाको तलब समेत पर्वत अस्पतामा आइसोलेसन बनाउने खर्च गरेका गिरीले स्वास्थ्य सामाग्री अभाव हुन नदिनका लागि आफूले पहल गरीरहेको बताएका छन् ।

हालसम्म पर्वत जिल्लामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भइसकेको छ भने १ हजार बढि संक्रमीत भसकेका छन् । अझै पनि झण्डै ५० जना विरामी जिल्लाका विभिन्न आइसोलेसन अस्पतालहरुमा उपचारमा गराईरहेका छन् ।