Print

पर्यटकको संख्या बढेपछि आवास गृह थपिँदैछन् चित्रे होम स्टेमा

२९ फागुन, पर्वत । गाउँमा भविश्य नदेखेपछि शहर झरेकाहरु अचेल गाउँमा देखिन थालेका छन् । ब्यवसाय सञ्चालन र सुविधाको खोजीमा शहर झर्नेहरुलाई अचेल गाउँले मोहनी लगाउन थालेको छ । गाउँका स्वास्थ्य चौकीहरुमा सुविधा थपिएको छ । बजारमा पाइने सामाग्रीहरु गाउँमा सहज ढङगले ढुवानी गर्न सकिने भएको छ । यत्ति मात्र होइन् गाउँमा अचेल पर्यटकहरुको चहल पहल शुरु हुन थालेको छ ।

यस्तै एउटा उदाहरणीय गाउँ बनेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका ८ चित्रे । पञ्चासे लेकसंग जोडिएको चित्रे आफैमा मनोरम गाउँ हो । चित्रेको उपल्लो भेगमा गुरुङ जातिमा बसोबास छ । मिश्रित जातहरु बस्ने चित्रेमा अन्य जातजातिका मानिसहरुको पनि बसोबास छ । पर्वत र कास्कीको सिमाना पर्दछ पञ्चासे लेक । यो धार्मिक र पर्यावरणीय हिसावले पञ्चासे लेक अलौकिक लेक हो । यहाँ बहुमूल्य जडिबुटि पाइन्छन । यो लेकको काखमा छ चित्रे ।

उच्च पहाडी सतहमा रहेको चित्रे पछिल्लो समय चर्चामा छ । यहाँका केहि घरधुरीमा नेपालीपनका आतिथ्यता छ । केहि रकम खर्च गरेर नेपालीपनको अनुभव गर्न पाइन्छ । नेपाली खाना, नेपाली बसाई र नेपाली संस्कृति । चित्रे गाउँको विशेषता हो । गर्मि मौसममा सितलता पाइने यो ठाउँ प्राकृति श्रोतले भरिएको छ ।

गाउँमा झण्डै एक दशक देखि होम स्टे सेवाको शुरुवात गरिएको छ । यो अवधिमा होम स्टेमा आउने पर्यटकको संख्या निकै उच्च देखिन्छ । पर्यटकहरु गाउँमा आउन थालेपछि अहिले होम स्टे सेवा विस्तार गरिएको छ । पर्यटकको आवश्यकतालाई महशुस गर्दै गाउँमा एटेज शौचालय सहितका कोठाहरु निर्माण गरिएको छ । पर्यटकको संख्या उच्च भएकाले होम स्टे सञ्चालकहरुले नयाँ घरहरुको निर्माण गरी आवास गृह निर्माण गरीरहेका छन् । यो अवधिमा मात्रै थप २ वटा घरहरु पुर्ननिर्माणमा छन् । उनीहरुले सुविधा सम्पन्न आवास गृह बनाउन लागेका छन् ।

यति मात्र होइन् पोखरामा होटल ब्यवसाय सञ्चालन गर्दै आइरहेकाहरु पनि अहिले गाउँमा नै होम स्टे सेवा सञ्चालन गर्न जुटेका छन् । होम स्टे सञ्चालक समितिकी अध्यक्ष शुशिला गुरुङ भन्छिन–‘पर्यटकको संख्या बढ्न थालेपछि पोखरामा गर्ने ब्यवसाय अव गाउँमै हुन थालेको छ’ सडकको सहज पहूँच तथा गाउँको न्यानो आतिथ्यताका कारण चित्रेमा आउने पर्यटकको संख्या उच्च छ ।

पूर्व भागमा पञ्चासे लेक उत्तरी क्षेत्रमा टहटह देखिने हिमश्रृंखला । दक्षिण र पश्चिम क्षेत्रमा छिमेकी गाउँ । जिल्ला सदरमुकाम देखि झण्डै १८ किलोमिटरको पूर्वी दिशा । सदरमुकाम देखि करिब १ घण्टा ३० मिनेट गाडिको यात्राबाट पुग्न सकिन्छ चित्रे । कच्चि सडकको यात्रा पार गरेर गाउँमा पुग्दा कोकिल कोइलीको आवाज र मन्द मन्द चलेको हिमालको चिसो हावामा जो कोहि पनि मग्द हुन्छ । दुःख विर्सन्छ । पिडा भुल्दछ, र खुशीमा रमाउँदछ ।

स्थानीय परिकारको स्वाद र संस्कृतिको धनी छ चित्रे । ‘चित्रे होम स्टे’ सञ्चालनमा आएपछि चित्रे अझै चर्चामा आएको हो । ‘चित्रेबासीको मन पवित्र छ ।’ होम स्टे अध्यक्ष गुरुङको अगुवाईमा सिंगो गाउँ अघि हिडेको छ । स्थानीय शिक्षक मधुसुदन अधिकारी गाउँका अगुवा हुन । गाउँलाई पर्यटन र संस्कृति जोड्न उनको ठूलो योगदान छ ।

आतिथ्यता र सभ्यता उनले गाउँ भरी सिकाएका छन । यत्तिमा मात्र चित्रेका कथा सकिदैन । यो गाउँले पर्वतमै पहिलो सफल हो स्टे सञ्चालन गरेको हो । बसाईसराईले रित्तिदै गएको गाउँको कथाले गाउँको आकर्षण मुर्छित भएको छ । औपचारिक र अनौपचारिक कार्यक्रम लिएर अचेल गाउँमा पर्यटकहरु भित्रने गरेका छन । सस्तो र सुलभ मूल्यमा खाना परिकार होम स्टेले ब्यवस्थापन गरेको छ ।

चित्रेले आफूलाई मात्र होइन पर्वतलाई पनि चिनाएको छ । पर्वतबासीको सभ्यता चित्रेले प्रतिबिम्बित गरेको छ । प्रकृतिको न्यानो काखमा अनुगमन स्वर्गीय आनन्दमा हराएको छ चित्रे ।