Print

पर्वत उद्योग बाणिज्य संघको आगामी निर्वाचनमा पौडेल नेतृत्वको प्यानल घोषणा

२७ फागुन, पर्वत । आगमी चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको निर्वाचनमा शिव शर्मा पौडेलको अध्यक्ष सहितको प्यानल घोषणा गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीको उपस्थितीमा पौडेलको प्यानल सार्वजनिक गरिएको हो ।

घोषणा गरिएको उमेदवारहरुमा अनिता मल्ल के.सी र पशुपति कार्की शर्मा (पूजा) महिला तर्फका उमेदवार रहेका छन् । यसैगरी खुल्ला सदस्यहरुमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टु आर जी, विज्ञान बम मल्ल र मोहन आचार्य रहेका छन् ।

उम्मेद्वारहरुलाई नेपाली काँग्रेस उद्योग वाणिज्य विभागका केन्द्रिय सदस्य विप्लव हमालले सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा व्यवसायीको साझा समूहले जीतेमा आगामी तीन बर्षको कार्यकालमा गरिने विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गरिएको छ । जसमा आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने, उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने प्रतिबद्धता ब्यक्त गरिएको छ । प्यानल घोषणा गरिएसंगै पर्वतको सदरमुकाम कुश्मा बजारमा ब्यवसायीहरुको निर्वाचनको सरगर्मी शुरु भएको छ ।

यस अघि अध्यक्ष पदमा अर्का प्रत्यासी गोपी अधिकारीले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । अधिकारी बाम मोर्चाका उमेदवार हुन भने पौडेल कांग्रेस समर्थक उमेदवार हुन् । दुवैले आफूलाई भने साझा उमेदवार भनेर घोषणा गरेका छन् । यस अघि अध्यक्ष पद घोषणा गरिएका अधिकारीले भने आफ्नो सदस्यहरुको विवरण सार्वजनिक गरीसकेका छैनन् ।