२३ पुस, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता महेश बस्नेतले सधै पदको लोभमा रहने प्रचण्डले एक दिन माधव नेपाललाई पनि सिध्याउने दावी गरेका छन् । पर्वतको कुश्मा आयोजीत राष्ट्रिय युवा संघको बृहत युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले सहकर्मीको राजनैतिक भविश्य सिध्याउने र आफू जोडिएको पार्टी विघटन गर्ने कुरामा प्रचण्डको सधै चाहना हुने भन्दै एक दिन माधव नेपालको भविश्य पनि सिध्याउने दावी गरे ।
युवा संघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले युवाहरुले टोल टोलमा गएर भ्रमहरु चिर्न समेत आग्रह गरे । उनले वर्तमान सरकारका विषयमा आफ्नै पार्टीका नेताहरुबाट धेरै भ्रमपूर्ण कुरा तल्लो तहसम्म लगिएका कारण ति भ्रमहरु चिर्नुपर्ने उनको भनाई थियो । बस्नेतले सिधिन लागेको पार्टीलाई एकता गरेर केपीले जोगाए पनि प्रचण्ड सधै पद र शक्तिको खोजीमा लागेको आरोप लगाए ।
उनले चुनावमा तेस्रो शक्ति भएको माओवादी केन्द्रलाई एकता गरेपछि प्रचण्डले कहिले कार्यकारी अध्यक्ष खोज्ने कहिले प्रधानमन्त्री खोज्ने र आफ्नै सरकार विरुद्ध चलखेल गर्ने घृणित कार्य गरेको आरोप लगाए । अहिले प्रचण्डको मायाजालमा परेका माधव नेपालको प्रचण्डसंग कुनै भविश्य नरहेको भन्दै ओली समूहमा नै फर्कन बस्नेतले आग्रह गरे ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य पदम गिरीले आफ्नै पार्टीलाई विघटन गर्ने तयारी गरेको प्रचण्डको पार्टीलाई एमालेमा जोडेर केपी ओलीले गल्ती गरेको बताए । उनले विघटनको संघारमा रहेको पार्टीले कहिले कांग्रेससंग गठबन्धन गर्ने त कहिले मधेसबादी दलसंग गठ बन्धन गरीरहेको बेलामा केपीले ठूलो पार्टीमा एकिकरण गरेर उद्धार गरेको बताए ।
कार्यक्रममा युवा संघका केन्द्रिय सचिव सन्तोष रावलले युवाहरुको जोश र जाँगरबाट अव केपी ओलीको नेतृत्वको नेकपा देशको ठूलो दल बन्ने विश्वास दिलाए । उनले माओवादीको चरित्रमा एमालेको चरित्र मेल खान नसेकेको भन्दै संसद विघटनको अवस्थासम्म पुराएर प्रचण्ड माधवले ठूलो भुल गरेको बताए ।
कार्यक्रममा युवा संघका पूर्व केन्द्रिय सदस्य शिव पौडेल, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने, अनेरास्वीयूका नेता ईश्वर भुषाल, बिराज गिरी लगाएतले मन्तब्य राखेका थिए । युवा संघका अध्यक्ष थमनारायणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ढाकाराम सापकोटा र सञ्चालन नवराज गिरीले गरेका थिए ।
भेला अघि सहभागीहरुले नारा जुलुस सहित बजार परिक्रममा गरेका थिए । ५ सय भन्दा बढिको सहभागीता रहेको युवा भेलामा सहभागी हुन पर्वतको उत्तरु देखि दक्षिणी क्षेत्रका युवाहरुको उपस्थिती रहेको थियो ।




