१० असार, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कुश्माका कुनै पनि स्थान अहिलेसम्म सिल नगरिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जिल्लामा अहिलेसम्म कुनै स्थान सिल नगरिएको स्पष्ट पारे । समुदायमा समेत संक्रमण देखिएका कारण थप रणनीतिका विषयमा केहि बेरमा छलफल गरी निर्णय गरिने बताउँदै प्रजिअ रेग्मीले सिल गर्नुपर्ने अवस्था डाक्टरहरुबाट सिफारिस भएमा मात्र सिल गरिने जानकारी दिए ।
उनले जिल्लाको सदरमुकाममा मानिसको आवात जावतमा कमी गर्ने प्रयास गरिएको समेत बताए । मानिसहरु अनावश्यक रुपमा भिड गरेर बाहिर निस्कन नदिने गरी केहि स्थानहरुमा उच्च सर्तकता मात्र अपनाइएको प्रजिअ रेग्मीको भनाई छ ।
उनले मानिसहरु दुरी कायम गरेर अत्यावश्यक बाहेकका काममा बाहिर नआउन भन्ने गरी उच्च सुरक्षा ब्यवस्था मिलाइएको जानकारी दिए । समुदायमा संक्रमण फैलिएपछि संक्रमीत ब्यक्तिहरु भएको केहि क्षेत्रफलमा मानिसको आवत जावतमा कडाई गरिएको छ ।




