१० असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको कुल बजेट ६२ करोड ५६ लाख ५९ हजार प्रस्तुत भएको छ । गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सेती महतले उक्त बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा चालू तर्फ ४० करोड ३ लाख १४ हजार ७५० रकम अर्थात ६३.९८ प्रतिशत र पूजीगत तर्फ २२ करोड ५३ लाख ४४ हजार २५० अर्थात ३६.०२ प्रतिशत रहेको छ ।
गाउँपालिकाको सातौँ गाउँ सभामा प्रस्तुत उक्त बजेट उपर गाउँ सभामा छलफल पछि पारित हुनेछ । गाउँ सभामा प्रस्तुत बजेटमा कोभिड विशेष कोष स्थापनाका लागि १ करोड ५० लाख, .कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि ५० लाख रुपैया विनियोजन भएको छ ।
यसैगरी मोदी नमुना कृर्षि नमुना गाउँ स्थापनाका लागि २४ लाख र भूमी बैकको स्थापना र बाँझो जग्गामा खेती गर्नेलाई मापदण्ड बनाई अनुदानका लागि १२ लाख रुपैंया, गाउँपालिकास्तरीय कृषि उपज संकलन केन्द्र स्थापनाका लागि १२ लाख रुपैंया प्रस्तुत भएको छ । आगामी बजेटमा मुख्यगरी कृषक विमा कार्यक्रम, गाउँपालिकास्तरीय श्रम बैक स्थापना र सञ्चालन र बालकक्षा सहजकर्तालाई थप पारिश्रमिकको व्यवस्था पनि गाउँपालिकाले गरेको छ ।
यसैगरी गाउँपालिकाले स्वास्थ्य सेवा तर्फ एम्बुलेन्स खरिदको थप ४ स्वास्थ्यचौकीमा ल्याव स्थापना, थप ३ स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन र सुत्केरी सँग उपाध्यक्ष कार्यक्रमको निरन्तरता दिने गरी बजेट विनियोजन भएको छ । गाउँपालिकाले आगामी बर्ष गाउँपालिका भवन निर्माण १ करोड ५० लाख समेत प्रस्ताव गरेको छ ।




