८ असार, पर्वत । जिल्लामा पहिलो पल्ट स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालका सवै स्वास्थ्यकर्मीको परिक्षणका लागि पोखरा पठाएको स्वाबको रिर्पोट ४ दिन वित्दा पनि आएको छैन । पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपनि ६५ जना स्वास्थ्यकर्मीसंगै उनीहरुको सम्पर्कमा रहको ८१ जनाको स्वाब पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा स्वाब पठाएपछि जिल्ला अस्पताललाई पूर्ण रुपमा बन्द गरिएको छ । इमेरजेन्सी सेवा सञ्चालन हुने भनिए पनि सवै स्वास्थ्यकर्मीको रिर्पोट आइनपुगेका कारण सेवा पूर्णरुपमा प्रभावित भएको अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटा बताउँछन् । ‘सेवा प्रवाहमा समस्या भएको छ’ डा. देवकोटाले भने –‘प्रयोगशालामा इमरजेन्सी भनेर पठाएको स्वाबको रिर्पोट ४ दिनसम्म पनि आएको छैन ।’ यस अघि स्वाब पठाइएका मध्ये २५ जनाको रिर्पोट आएपनि बाँकी स्वास्थ्यकर्मीहरुको रिर्पोट आएको छैन ।
२५ जना मध्ये थप २ जना संक्रमीत हुँदा कुल संक्रमीत संख्या ७ पुगेको छ । आइतबार बेलुकासम्म २ जना संक्रमीतको अर्को रिर्पोट भने नेगेटिभ देखिएको छ । प्रयोगशालाले समयमा रिर्पोट नदिदा अस्पतालको सेवा प्रवाहमा समस्या सृजना भएको छ । जिल्लाकै सरकारी क्षेत्रको ठूलो अस्पतालको सेवा बन्द हुँदा विरामीले सास्ती बेहोरेका छन् । प्रहरीले शवको पोष्टमाट्म देखि बन्दीहरुको स्वास्थ्य परिक्षण गर्न बाहिरी जिल्लामा लैजानु परेको छ ।
डा. देवकोटाले प्रयोगशालाको रिर्पोट समयमा नआउँदा धेरै झण्झट र समस्या बेहोर्न परेको गुनासो गर्छन । अहिले अस्पताल भित्र ४५ जना स्वास्थ्यकर्मीहरु रिर्पोट कुरेर बसीरहेका छन् । ५ जना स्वास्थ्यकर्मीहरु माउन्टेन भ्यूको होटलको क्वारेन्टाइनमा छन् भने ५ जना ब्लू एन्जल होटलको आइसोलेसनमा छन् ।




