Print

प्रशासन कार्यालय अनुदार भएको भन्दै पर्वतका स्वास्थ्यकर्मी आक्रोसित

६ असार, पर्वत । कोरोना संक्रमण पुष्टि भएको २ दिनसम्म पनि पर्र्वत अस्पतालका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा नराखेपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलीत बनेका छन । उनीहरुले शनिवार साँझ जिल्ला प्रशासन कार्यालय पर्वतमा धर्ना दिदै तत्काल आइसोलेसन वेडको ब्यवस्था गरी स्वास्थ्यकर्मीलाई राख्न माग गरेका हुन ।

विभिन्न माग राख्दै प्रशासन कार्यालयमा पुगेका स्वास्थ्यकर्मीको मागलाई प्रमुख जिल्ला अधिकारीले गम्भिरता पूर्वक नलिएको उनीहरुको गुनासो छ । पर्वत अस्पतालका डा. विष्णु भण्डारीले यो कुनै आन्दोलन नभई स्वास्थ्यकर्मीका गुनासाहरु राख्न आफू प्रशासन कार्यालय पुगेको बताउँछन् ।

संक्रमीत भएकालाई आइसोलेसनमा नराखिएको, कतिपय घरवेटीले स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिएको र थप संक्रमीत भेटिएमा कहाँ बस्ने भन्ने विषयमा प्रशासन कार्यालयका राय बुझन स्वास्थ्यकर्मीहरु प्रशासन कार्यालयमा पुगेका थिए । उनीहरुसंग औपचारिक रुपमा कुनै वार्ता वा छलफल गर्न प्रमुख जिल्ला अधिकारीले नमानेको उनीहरुको गुनासो छ ।

क्रमीत भेटिएको ३ दिन भएको छ । संक्रमीतको पुष्टि भएको २ दिन वितेको छ । तर उनीहरुलाई अहिलेसम्म आइसोलेसनमा राखिएको छैन । थप स्वास्थ्यकर्मीहरुको रिर्पोट पनि आउँदैछ । उनीहरुको रिर्पोट पोजेटिभ देखिएमा कहाँ बस्ने भन्ने टुंगो छैन । डा. भण्डारी भन्छन्–‘प्रशासनले कुनै वास्ता गरेको छैन ।’

प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले आफ्ना मागहरु सम्बोधन गर्न, छलफल गर्न र समस्या तत्काल समाधान गर्न कुनै तदारुकता नदेखाएको स्वास्थ्यकर्मीहरुको आरोप छ । उनीहरुले औपचारिक रुपमा स्वास्थ्यकर्मीसंग छलफल गर्ने समस्याहरु समाधानको विकल्प सामूहिक रुपमा खोज्ने कार्यमा कोरोना नियन्त्रण जिल्ला समितिले कुनै काम नगरेको उनीहरुको आरोप छ ।

उता प्रमुख जिल्ला अधिकारीले भने हालका लागि संक्रमीतलाई ब्लु एन्जल होटलमा राख्ने ब्यवस्था मिलाइएको बताउँछन । उनले अरु बाँकी स्वास्थ्यकर्मीलाई माउन्टेन भ्यू होटलमा बस्ने प्रवन्ध मिलाइएको समेत बताए ।

तर, स्वास्थ्यकर्मीहरुले भने प्रशासन कार्यालयले स्वास्थ्यकर्मी वास्ता नगरेको आरोप लगाएका छन् । आफ्ना केहि मागहरु सहित प्रशासन कार्यालयमा पुगे पनि कुनै छलफल नै नगरी आफूहरुलाई पठाइएको उनीहरुको दावी छ ।

यो पनि पढ्नुहोस्

पर्वतमा संक्रमीत स्वास्थ्यकर्मीले २ दिन वित्दा पनि आइसोलेसन बेड पाएनन्