६ असार, पर्वत । जिल्लामा पहिलो पल्ट ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २ जना चिकित्सक सहित ५ जनामा कोरोना संक्रमण शुक्रवार विहान पुष्टि भएको हो । कोरोना संक्रमीतहरु कोरोना अस्पतालमा विरामीको उपचारमा सग्लन्न थिए । उनीहरुमा शुक्रवार विहान कोरोना संक्रमण पुष्टि हुँदा शनिवार साँझसम्म पनि आइसोलेसन वेडमा भर्ना गरिएको छैन । संक्रमण पुष्टि भएकाहरु अहिले पनि आफ्नै क्वाटरमा रहेको अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटा बताउँछन् । अस्पताल श्रोतका अनुसार भने अहिले उनीहरु मध्ये ४ जना पर्वत अस्पतालमै रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको सहमित अनुसार उनीहरुलाई कुश्मा स्थित ब्लु एन्जल होटलमा राख्ने निर्णय भएको थियो । शुक्रवार संक्रमीत स्वास्थ्यकर्मीहरु उक्त होटलमा पुग्दा होटलका बस्ने कोठाहरु फोहोर भएपछि त्यहाँ बस्न उनीहरुले इन्कार गरेका थिए । अस्पताल श्रोतका अनुसार संक्रमीत ४ जनालाई शुक्रवार राती नै अस्पतालमा ल्याइएको हो । संक्रमीत ५ जना मध्ये थप एक जना पर्वतको दक्षिणी क्षेत्रको स्वास्थ्यचौकीमा रहेका थिए । उनी आफ्नै स्वास्थ्यचौकीको क्वाटरमा बसीरहेको बताइन्छ । उनलाई भने शनिवार गाडीको ब्यवस्था गरी कुश्मामा ल्याइदैछ । उनी पनि कोरोना अस्पतालमा उपचारमा सग्लन्न थिए ।
७ दिन कोरोना अस्पतालको उपचार पछि थप ७ दिन क्वारेन्टाइनमा बसेका उनीहरु रिर्पोट आउन ढिला भएपछि आफ्नो कार्य क्षेत्रमा खटिएका थिए । कार्य क्षेत्रमा खटिएको झण्डै १ हप्तामा बल्ल उनीहरुको रिर्पोट आएको हो । अस्पताल श्रोतका अनुसार ७ दिनको क्वारेन्टाइनबाट स्वास्थ्यकर्मीहरु नियमित सेवामा सग्लन्न थिए । उनीहरु अस्पतालमै कार्यरत भएका कारण थप संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी गर्दैछ । त्यस मध्ये शुक्रबार नै ८१ जना ट्रेसिङ गरिएका ब्यक्तिहरुको स्वाब संकलन गरी पोखरा स्थित प्रयोशालामा पठाइएको छ । उनीहरु मध्ये प्रत्यक्ष सम्पर्कमा रहेका २७ जना स्वास्थ्यकर्मीको रिर्पोट शनिवार साँझसम्म आइपुग्ने डा. देवकोटाले जानकारी दिएका छन् ।
संक्रमीतलाई ब्लु एन्जलमै राखिनेछ
प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संक्रमीत स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनको रुपमा ब्लु एन्जल होटलमा नै राख्ने तयारी भएको बताउँछन् । ‘शुक्रबार उहाँहरु जाँदा कोठा फोहोर भन्न भएको छ होटलका कोठाहरु हुन सरसफाई गरेपछि बस्न मिल्छ’ प्रजिअ रेग्मीले भने–‘सवै ठाउँमा खोज्दा उत्तम विकल्प त्यहि भएको भएर उहाँहरु पनि सहमत हुनुभएको हो’
शुक्रबार राती कोठा फोहोर भएपछि अस्पतालमा फर्किएका स्वास्थ्यकर्मीहरु अहिले अस्पतालकै कोठामा रहेका छन् । संक्रमीतको संख्या थप रिर्पोट आएपछि यकिन हुने भएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा अस्पतालमा छलफल भइरहेको प्रजिअ रेग्मीे बताउँछन । अन्य होटलहरु संक्रमीत राख्न तयार नभएकाले आइसोलेनसमा समस्या परेको रेग्मीको भनाई छ । सरकारी कार्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने सरकारको निर्देशन भएकाले सरकारी भवन पनि उचित विकल्प नभएको रेग्मीले बताए ।
संक्रमीतको लागि उचित विकल्प चाहिन्छ
पर्वत अस्पतालका निमिक्त प्रमुख डा. देवकोटाले प्रशासन कार्यालयले तोकेको होटलका कोठाहरुमा बास बस्न नसकिने गरी फोहोर भएका कारण अर्को विकल्प खोज्न आग्रह गरिएको बताउँछन । सरकारी भवन वा अरु होटलहरुको विकल्प खोजेर संक्रमीत स्वास्थ्यकर्मीहरुलाई राख्नुपर्ने उनको भनाई छ । जिल्लामा ब्यवस्थापन हुन नसके उनीहलाई पोखरासम्म पठाउने गरी आफूले निर्देशनालयमा कुरा गरीरहेको जानकारी दिए । स्वाब परिक्षणको थप रिर्पोट आए पछि कति संख्यामा सक्रमीतको टुगो लाग्छ त्यस पछि उनीहरुको उचित ब्यवस्थापन गरिने उनले जानकारी दिए ।
छिटो ब्यवस्थापन गर्नुपरयो–स्वास्थ्यकर्मी
उता, संक्रमीत स्वास्थ्यकर्मी र अरु स्वास्थ्यकर्मीहरुले संक्रमण पुष्टि भएपछि पनि उचित ब्यवस्थापन नगरेको आरोप लगाएका छन् । समयमा ब्यवस्थापन गरी उचित तरिकाले स्वास्थ्यकर्मीलाई नराख्नु दुर्भाग्यपूर्ण रहेको उनीहरुको ठम्माई छ । खाना र बस्नमा निकै समस्या परीरहेको उनीहरुले बताएका छन् । विहिबार राती नै आफूहरु संक्रमीत भएको थाहा पाएका उनीहरुको रिर्पोट शुक्रबार विहान सार्वजनिक भएको थियो ।
आफूहरु संक्रमीत भएको जानकारी भएको लामो समय वित्दा पनि उचित ब्यवस्था नहुनु दुःखत रहेको उनीहरुको भनाइ छ । ४ जना संक्रमीतहरुलाई शुक्रबार साँझ नै ब्लु एन्जल होटलमा लगिएको थियो । तर उनीहरु राती नै फर्किएर पर्वत अस्पतालमा बसीरहेका छन् ।




