Print

पर्वतमा भारतबाट फर्केको संख्या बढ्यो, क्वारेन्टाइनको अभाव हुँदै, थप ४ सय वेड थपिदै

२६ जेठ, पर्वत । कोभिड १९ कोरोनाको रोकथामका लागि पर्वतमा सदरमुकाम कुस्मा र नजिकका क्षेत्रमा ४ सय क्षमताको ‘पुलिङ क्वारेन्टाईन’ र सय बेड क्षमताको आइसोलेसन वार्ड बनाउन थालिएको छ ।

भारत र तेस्रो देशबाट आउने नागरिककको संख्या उल्लेख्य रुपमा बढ्न थालेपछि राख्नका लागि कुस्मा र पोखरा बागलुङ सडक वरपरका क्षेत्रमा पुलिङ क्वारेन्टाईन र कुश्मामा आइसोलेसन वार्डको बिस्तार गर्न थालिएको हो ।

यस अघि कुस्माका होटल र शिबालय माबि तथा क्याम्पसमा पुलिङ क्वारेन्टाईन बनाइएको थियो भने गुप्तेश्वर बहुमुखी क्याम्पसमा २० बेड क्षमताको आइसोलेसन कुस्मा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । हरेक दिन भारतबाट आउने नागरिक थपिने क्रम जारी रहेको र संक्रमितको संख्या बिस्तार हुने संभावनालाई ध्यानमा राखेर पुलिङ क्वारेन्टाईन तथा आइसोलेसन वार्ड बिस्तार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार कुस्माबजारमा शिबालय माबि तथा क्याम्पस र होटलको क्षमता सकिएको हुनाले नयाँ ठाउँहरु पुलिङ क्वारेन्टाईन बनाउने निर्णय भएको हो । त्यसका लागि मोदी गाउँपालिकाको नवजागृत माबि, नवजागृत क्याम्पसमा १ सय ५०, सरस्वती माबिमा ७० जना, र पशुति निमाबिमा ३८ जना रहने पुलिङ क्वारेन्टाईन बनाइएको छ ।

सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकास्थित गुप्तेश्वर बहूमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी)मा २० जना राख्न सकिने क्षमता छ । अब गुप्तेश्वरमै प्रि–आइसोलेसन बनाउने र पर्वत ब्याडमिन्टन संघको कर्भडहललाई समेत आइसोलेसन बनाउउने तयारी भएको छ । सबैको क्षमता १ सय भन्दा बढी हुनेछ ।

अहिले सम्म शिबालय माबिको पुलिङ क्वारेन्टाईनमा १ सय २७ जना रहेका छन भने बन्दना होटलमा ४९ जना तथा ब्लु एन्जलमा १४ जना रहेका छन । त्यस मध्ये ३ स्वास्थ्यकर्मी सहित ८२ जनाको पिसिआर रिर्पोट सोमबार सम्म आउने छ । आइतबार थप ४२ जनाको स्वाब लिइएको छ । त्यसपछि केहीलाई डिस्चार्ज गर्ने तयारी छ । भने भारतबाट दैनिक ३० जनाको दरमा उद्दार गरि ल्याइएको छ। तेस्रो मुलुकबाट समेत १ जनाको उद्दार गरिएको छ ।

पर्वतमा जेठ १९ गते ५ जनामा संक्रमण रहेको पुष्टि भएको पर्वतमा जेठ २२ गते थप ४ जनामा सङ्क्रमण भेटिएको थियो । पहिलो पटक फेला परेका संक्रमितसँगको सम्पर्कमा रहेका २ जनासहित गरेर ११ जना आइसोलेसनमा रहँदा अब ९ ओटा बेड मात्रै खालि अवस्थामा छन ।