Print

संघीय बजेट : कुश्मामा बसपार्क निर्माणका लागि १ करोड

१९ जेठ, पर्वत । संघीय सरकारबाट जिल्ला सदरमुकाम कुश्मा बजारमा बसपार्क निर्माणका लागि १ करोड रकम विनियोजन भएको छ । सहरी विकास कार्यक्रम तर्फ संघीय सरकारले देशभरका सदरमुकाममा ब्यवस्थित बसपार्क निर्माण गर्ने नीति अनुसार यस बर्ष १ करोड रकम विनियोजन गरेको हो ।

जिल्लाको सदरमुकाम कुश्मा बजारमा ब्यवस्थित वसपार्क नहुँदा सवारी साधनहरु बीच सडकमा नै सवारी साधनहरु पार्किक गर्न बाध्य बनिरहेका छन । बर्षनी सवारी चाप बढेपछि ब्यवस्थित पार्किक नहुँदा सवारी साधनहरु यत्रतत्र पार्किङ गर्न सवारी धनीहरु बाध्य बनेका बनिरहेका छन ।

पर्वत जिल्लामा मात्र २ सयका संख्यामा सार्वजनिक सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किकको ब्यवस्था अझै हुन सकिरहेको छैन । सदरमुकाम कुश्माबाट दैनिक दजर्न भन्दा बढि स्थानमा सवारी साधनहरु छुटने गर्छन । वसपार्क निर्माणकै लागि भनेर ५ बर्ष अगाडि तयार पारिएको गुरुयोजना कार्यान्वयन भएन ।

चालु बर्षमा समपुरक अनुदान मार्फत प्राप्त रकमले कुश्मा नगरपालिकाले पुनः डिपिआर तयार गरेको छ । वसपार्क रहेको कुश्मा ६ का वडाअध्यक्ष रुद्र गिरीले डिपिआर अनुसारको काम सम्पन्न गर्नका लागि संघीय सरकारसंग बजेट माग गरिएको बताउँछन् ।

यस अघि जिल्ला विकास समितिले करिब १ करोड ५९ लाख रुपैयाको खर्चमा बसपार्क निर्माण गर्ने योजना बनाए पनि यस अघि जिविस पर्वतको १३ लाख रुपैंया खर्चमा जग्गा सम्माउने मात्र काम गरेको थियो ।

वसपार्कको अभाव भएपछि वसधनिहरुले आ–आफनो घर अगाडि बसलाई पार्किक गरिरहेका छन् । ब्यवस्थित वसपार्क नहुँदा वसका महत्वपूर्ण पार्टसहरु चोरी हुने गरेको बसधनिहरुले दुखेसो गरीरहेका छन् । बसपार्क निर्माणका लागि करिब १२ रोपनीको सार्वजनिक जग्गा छुटाइएको छ । निर्माणस्थलमा डोजर प्रयोग गरी माटो सम्माउने काम भएपनि अरु महत्वपूर्ण काम हुनै बाँकी छ ।

सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठकाण्डौ, पोखरा, सुनौली, नारायणगढ लगाएतका शहरमा सार्वजनिक सवारी साधनहरु छुटने गर्छन । तर जिल्लामा भित्रीएका र बास बस्नुपर्ने सवारी साधनहरु भने सुरक्षित ढङगले पार्किक गर्न पाएका छैनन । डिपिआरमा सभा हल सहित अन्डरग्राउण्ड पार्किङको ब्यवस्था उल्लेख भएकोले सोहि बमोजीमको काम अघि बढाइने अध्यक्ष गिरीको भनाई छ ।