Print

‘कुश्मामा तरकारी खपत घट्यो, गाउँमा बढ्यो’

२८ चैत, पर्वत । लक डाउन शुरु भएपछि गाउँघर भरिभराउ भएका छन । गाउँमा जन चाप बढेको छ । गाउँ घर फर्किएका मानिसहरुका कारण गाउँमा तरकारीको खपत् एक्कासी बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी बताउँछन ।

हालसम्म कृषकले उत्पादन गरेको तरकारीले बजार नपाएर सड्ने अवस्था पर्वत र बागलुङ जिल्लामा आइनसकेको रेग्मीको भनाई छ ।

उनी भन्छन–‘अझै केहि साता लक डाउन लम्बिने हो भने केहि गाउँमा भने समस्या आउँछ ।’ उनले बजार क्षेत्रमा तरकारी खपत घटिरहेको भन्दै गाउँमा उत्पादन भएका तरकारी गाउँमा नै खरिद विक्री हुन थालेको बताउँछन ।

बजारमा भएकाहरुले गेडागुडीको तरकारी बढि प्रयोग गरीरहेको भन्दै ताजा तरकारीको खपद् ज्यादै न्युन रहेको रेग्मीको भनाई छ । उनले बजारी क्षेत्रमा पहिले नै स्टोर गरेका दाल, आलु र गेडागुडीको प्रयोग गरेका र बजारका अधिकांश गाउँघरमा गएका कारण पनि बजारमा तरकारीको माग घटेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीको भनाई छ ।

उनले स्थानीय तहहरुले राहत बाड्दा ताजा तरकारी पनि दिन सकिने तर्क गरे । ‘दाल र चामलसंगै केहि क्रेट अण्डा र ताजा तरकारी पनि राहत प्याकेजमा हाल्न सकिन्छ’ रेग्मी भन्छन–‘स्थानीय तहको ध्यान त्यसमा गएन ।’

अवस्था अहिलेको जस्तै रहेमा तरकारी उत्पादन हुने तर बजारको समस्या आउने अवस्था आउन सक्ने उनले बताए । त्यस्तो अवस्थामा तरकारीको पकेट क्षेत्रबाट स्थानीय तहले खरिद गरेर भएपनि कृषकलाई राहत दिनुपर्ने उनको तर्क छ ।

अहिलेकै अवस्थामा कृषकले खेती गर्न छाडे भने नेपालम खाद्यन्न अभावको अवस्था आउनसक्ने भन्दै गाउँमा रहेका कृषकहरु उत्पादनमा लाग्नुपर्ने उनको तर्क छ । भाइरससंग उच्च सर्तकर्ता अपनाउँदै उत्पादन कार्यलाई भने निरन्तरता दिनुपर्ने रेग्मीले सुझाब दिए ।