१३ चैत्र, पर्वत । जिल्लाको सुदुर दक्षिण क्षेत्र सेतीवेणी देखि रानीपानीसम्मको कालीगण्डकी लोकमार्ग कालोपत्रे हुने भएको छ । संघिय सरकारले झण्डै ४१ करोडको बजेटमा सहमती दिएसंगै उक्त सडक कालोपत्रे हुने भएको हो । सडक कालोपत्रे गर्नका लागि पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पदम गिरीले यस अघि पहल गर्दै आइरहेका थिए ।
ठेक्का सम्झौताका लागि अर्थ मन्त्रालयले सहमती दिएसंगै कालोपत्रेको प्रक्रिया शुरुवात हुने गिरीले जानकारी दिए । ९ किलोमिटर लामो उक्त सडक जिल्लाको विहादी गाउँपालिकामा भित्र पर्दछ । सांसद गिरीले निर्वाचनको बेलामा जिल्लाका मुख्य–मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता नै गरेको स्मरण गर्दै उक्त सडक कालोपत्रेको चरणमा लैजान आफू सफल भएको बताए । प्रक्रिया पुरा गरी मन्त्रालय फाइल पुगे पनि लामो समय विचारधिन अवस्थामा रहेको उक्त सडकमा बजेट विनियोजन गर्न मन्त्रालयले सहमति दिएको गिरीको भनाई छ ।
यसैगरी गिरीको गृह वडा जाने कुश्मा–दुर्लुङ सडकका लागि पनि रकम थप भएको छ । कालोपत्रे र ढलानको काम भईरहेको उक्त सडकमा चालु आर्थिक बर्षका लागि थप ६ करोड रकम विनियोजन हो । केहि साता अघि मात्रै सांसद पदम गिरीले उक्त सडकलाई पक्कि बनाउने कार्यको शुभारम्भ गरेका थिए । सडक पक्कि बनाउने अभियान शुरुवात गरेको केहि हप्तामै सडकका लागि थप रकम विनियोजन भएको हो । यो संगै कुश्मा देखि दुर्लुङ खण्डको अधिकांश भाग चालु आर्थिक बर्षमा नै पुरा हुनेभएको छ ।
यसैगरी सांसद गिरीकै पहलमा कुश्मा नगर पालिकाको सहस्रधारा–पाङ–टार–ततरकोट–बनौ सडकका लागि पनि ३ करोड रकम विनियोजन भएको छ ।
उता, चिसापानी देखि हुवास हुँदै बर्राचौर सडक प्रदेश सरकारले कालोपत्रे गर्ने गरी ठेक्का आब्हान गरे पनि भुषालचौर देखि बरौचौर खण्ड कालोपत्रेमा छुट भएको थियो । भुषालचौर देखि बर्राचौर सडक कालोपत्रेका लागि संघिय सरकारबाट ३ करोड रकम विनियोजन भएको सांसद गिरीले जानकारी दिए । विहादी गाउँपालिकाको मुकाम समेत रहेको उक्त स्थानको सडक पक्कि हुने भएको छ ।




