Print

शालिग्राम र रानीपानीमा एक घर, एक धारा : पानीको श्रोत खोज्दै सांसद गिरी मुहानमा

४ कार्तिक, पर्वत । जिल्लाको विहादी गाउँपािलका अन्तर्गत शालिग्राम र रानीपानी क्षेत्रमा खानेपानीको चरम अभाव छ । विगत लामो समय देखि खानेपानीको अभाव वोकेका स्थानीयबासीको समस्या समाधान गर्न सकैले पनि चासो देखाएनन ।

तत्कालीन जिल्ला विकास समिति र खानेपानी कार्यालयका साना खानेपानी योजनाहरुले स्थानीयबासीको खानेपानीको आपूर्ति धान्न सकिरहेको छैन । खानेपानीको अभावमा चरम सास्ती वेहोरेका स्थानीयको माग पुरा गराउने अभियानमा यतिबेला जनप्रतिनिधिहरु जुटेका छन ।

स्थानीय स्तरको समस्या बुझेका संघिय सांसद पदम गिरीले संघिय खानेपानी कार्यालयका प्राविधिक लिएर खानेपानीको मुहानको सर्भे गरेका छन । गाउँपालिका अध्यक्ष कमल भुषाल, वडाअध्यक्षहरु, गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीयबासी सहितको समुहले खानेपानीको मुलको प्रारम्भिक अध्ययन गरेको हो । शालीग्राम क्षेत्र जिल्लाकै खानेपानीको समस्या रहेको वडाको रुपमा परिचित छ ।

उता, रानीपानीमा समेत पानीको हाहाकार छ । दुवै वडाहरुमा लिप्ट खानेपानी प्रविधि मार्फत खानेपानीको उपलब्धता गराउने गरी अभियान शुरु भएको छ । संघिय सरकारबाट खानेपानी योजनाका लागि चालु आर्थिक बर्षमा रकम विनियोजन गरी सांसद गिरीले स्थानीय सहित खानेपानीको मुल/मुहानको खोजीमा जुटेका हुन ।

दुवै वडामा लिप्ट खानेपानीको सम्भावना रहेको उक्त प्राविधिकको प्रारम्भिक सर्वेक्षणबाट भेटिएको गाउँपालिका अध्यक्ष कमल भुषालले बताए । संघिय सरकारको बजेटमा सञ्चालन हुने दुवै वडाका आयोजनाहरुलाई जतिसको चाँडो सम्पन्न गर्ने गरी काम हुने वातावरण मिलाउन सांसद गिरीले स्थानीयबासीसंग अनुरोध गरेका छन । दुवै योजनाहरुको डिपिआर निर्माण गरी चालु बर्षबाट खानेपानीको आयोजना शुरुवात हुने गिरीले जानकारी दिए ।