६ असोज, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले सामुदायिक विद्यालयको शैक्षिक अवस्थाको सुधारसंगै भौतिक सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन । जलजला गाउँपालिका वडा न ७ स्थित फर्से धाइरिङ माविका नवनिर्मित ४ कोठे पक्कि भवनको उद्घाटन गर्दै सांसद गिरीले भौतिक ब्यवस्थापनको सुधार विना गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज नहुने भन्दै सवै सामूदायिक विद्यालयका भवनहरुको अवस्था सुधार गर्ने कार्यमा संघिय सरकारले प्राथमिकता दिएको बताएका हुन ।
भुकम्पबाट भत्केका भवन र भवन विना खुल्ला आकाशमुनी अध्यापन गराउन बाध्य भएका विद्यालयहरुमा भवन निर्माण तिन वटै तहका सरकारले प्राथमिकता दिनुपर्ने धारणा उनले राखे ।
सांसद गिरीले जग्गाको अभाव भएका विदालयहरुमा नयाँ भवन बनाउन समस्या रहेको भन्दै यस्तो अवस्थामा जग्गा सहयोग गरी पुन्य कमाउने कार्य स्थानीय स्तरबाट नै हुनुपर्ने धारणा राखे । भौतिक अवस्थाको सुधार, प्रयाप्त खेल मैदानको निर्माण र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सामुदायिक विद्यालयहरुले फड्को मार्नुपर्ने उनको धारणा थियो ।
सांसद गिरीले जलजलाको धाइरिङबासीको शिक्षा क्षेत्रको भौतिक अवस्था सुधारको मागसंगै वर्तमान सरकारले सडक यातायात सुधारमा समेत अभियान सञ्चालन गरेको जानकरी दिए । उनले प्रदेश सरकार मार्फत मिलन चोक–धाइरिङ सडकको कालोपत्रेको प्रक्रिया अघि बढेको समेत बताए । उनले जनताका सवै खालका आवश्यकता पुरा गर्ने गरी सरकारले विशेष ढङगबाट अघि बढेको समेत दावी गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, शिक्षा इर्काइ प्रमुख उद्धिम राज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख युक्तप्रसाद शर्मा, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष टुंगनाथ शर्मा, नेकपा नेता दिपक पौडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र स्वागत आकृति सुवेदीले गरेकी थिइन ।




