Print

पर्वतका महिला नेतृहरु भन्छन–‘तीजमा भड्किलोपन रोकिनुपर्छ’

२६ साउन, पर्वत । नेपाली महिलाहरुको ठूलो पर्व हरीतालिक तीज आउन अझै ३ हप्ता बाँकी छ । तीज पर्व आउन हप्तौ दिन बाँकी रहँदा तीज पर्वलाई कसरी मनाउने भन्ने बहस भने शुरु भईसकेको छ । पछिल्लो समय शहरीया सम्प्रभूत्वमा मनाईने भड्किलो पनको तीजलाई कसी लगाउने गरी प्रशासन कार्यालयले सुचना निकाले पछि यसको विषयमा भने बहस शुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचना गर्दै गर गहना प्रदर्शन गर्ने, पार्टी प्यालेस र होटलहरुमा कार्यक्रम गर्ने र मौलिकता नै विग्रने गरी तीज पर्व मनाउने कार्यलाई कडाई गरेसंगै तीज पर्व मनाउने विषयमा बहस शुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सुचना जारी गर्दै शान्ति सुरक्षामा नै खलल पर्ने गरी मौलिकता नै विग्रने गरी आयोजना गर्ने कार्यक्रमलाई कडाई गर्ने चेतावनी दिइएको छ । सुचना जारी भएसंगै केहि महिला समूहहरुले तीजमा गरिने भड्किलो कार्यक्रमलाई नरोक्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह पनि गरेका छन । उता, राजनैतिक दल निकट महिला नेतृ तथा महिला अधिकारबादीहरुले भने भड्किलो र परम्परा नै विग्रने गरी मनाइने तीज पर्वको विरोध गरेका छन ।

अखिल नेपाल महिला संघ पर्वतकी अध्यक्ष कमला पन्त भन्छिन–‘सवै महिलाले आफ्नो पर्व भन्ने गरी तीज पर्वलाई मनाईनु पर्छ ।’ पछिल्लो दिनहरुमा तीज पर्वको नाउँमा बढ्दै गएको विकृतिले पारिवारिक कलहका साथै गर गहना लुटिने र चोरिने गरेका घटनाहरु समेत सार्वजनिक भईरहेको भन्दै मौलिक रुपमा कम खर्चमा पर्वहरु मनाउनुपर्ने पन्तको धारणा छ । अध्यक्ष पन्तले जिल्ला प्रशासन कार्यलयले जारी गरेको सुचनाम महिलाहरुको कुनै पनि अधिकार हनन नभएको भन्दै पर्व मनाउने नाउँमा गरिने उश्रृंखताको भने विरोध हुनुपर्ने धारणा राखिन । तीज पर्वले महिलाहरु तथा दिदिवहिनीहरु वीच हार्दिकताको विकास हुनुपर्छ, उनले भनिन–‘कम्युनिष्ट पार्टीले भड्किलो र खर्चिलो कार्यक्रमलाई कहिल्यै पनि प्रत्साहन गर्दैन’ उनले भनिन–‘दिदिवहिनीको देखासिकी गरी महंगा लुगा लगाउने, गर गहना किन्ने, धेरै रकम खर्च गर्ने कार्य गर्नु राम्रो होइन ।’ महिनौ दिन देखि पर्व मनाउने कार्यको विरोध गर्दै उनले सवै दिदिवहिनीहरुलाई परम्परा जोगाउन तर्फ लाग्न अनुरोध गरिन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का पर्वत जिल्ला अध्यक्ष मनरुपा सुवेदीले परिर्वतनी राजनैतिक ब्यवस्थाले महिलाहरुमा चेतना अभिबृद्धि भएको बताईन । उनले देश विकास र आर्थिक सम्बृद्धिको कार्यमा लाग्नु पर्ने महिलाहरु नै महिनौ दिन देखि दर खाने नाउँमा तड्क भड्क गर्दै कार्यक्रममा सहभागी हुन नहुने धारणा राखिन । महिलाहरुका हक, अधिकार र विकास निर्माण कार्यमा बहस गर्नुपर्ने बेला होटल, पार्टी प्यालेसमा सम्पत्ति प्रदर्शन गर्ने कार्य तत्काल बन्द गरिनुपर्ने उनको धारणा छ । तीज पर्वको नाउँमा महिलाहरुले महिलाहरुकै भावनामा आँच पुराउने गरी दैनिक जसो गरिने पार्टी तथा भोज भतेरले समाजलाई गलत सन्देश दिईरहेको उनको भनाई छ ।

नेपाल महिला संघ पर्वतकी अध्यक्ष जोगमाया प्रसाईले महिला स्वतन्त्रताको नाउँमा गरिने सवै गतिविधिहरु बान्छनीय नहुने धारणा राखिन । उनले पर्व मनाउन कसैले पनि रोक्न नहुने तर पर्वको नाउँमा गरिने खर्चले सामामाजिक र पारिवारिक कलह निम्ताउने गरेको बर्ताइन । गाउँ घरमा समेत शहर बजारको प्रभावले तीज पर्वको मौलिकता हराउँदै गएकोमा उनले चिन्ता समेत ब्यक्त गरिन । प्रसाईले महिलाहरुले स्वतन्त्रतापूर्वक आफ्नो पर्वलाई मौलिकतापूर्वक मनाउने कार्यमा भने कसैले पनि विरोध गर्न नहुने धारणा राखिन ।

तीज पर्वको विकृति रोक्न जिल्ला प्रशासन कार्यालय पर्वतको सुचना