९ जेठ, पर्वत । स्थानीय तहहरु गठन भए पछि शुसासनको विषय धेरै उठने गरेको छ । निर्वाचन मार्फत स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु निर्वाचित भए पनि उनीहरु आफ्ना गतिविधि प्रति जनताका गुनासा सुन्न नखोजेको आरोप लाग्न थालेको छ । अर्को तर्फ जनप्रतिनिधिहरुले जनताबाट हुने खबरदारीबाट डराउने गरेको समेत आरोप यथावत छ । जनप्रतनिधिहरु जनताप्रति जवाफदेहि र उत्तरदायी हुनुपर्नेमा पारदर्शीतापूर्वक जनताका अभिमतहरु सुन्न उनीहरु डराईरहेका छन । पर्वत जिल्लामा चालु आर्थिक बर्षमा विहादी गाउँपालिका र जलजला गाउँपालिकाले औपचारिक रुपमा नै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मोदी गाउँपालिकाले एक विशेष समारोहका वीच बार्षिक प्रतिवेदन सार्वजनिक गरयो । बाँकी नगरपालिका र गाउँपालिकाहरु भने जनताप्रति जवाफदेहि बनेका छैनन ।
गत आर्थिक बर्षमा मात्रै मोदी गाउँपालिका, जलजला गाउँपालिकाले बाहेकका नगर तथा गाउँपालिकाहरुले पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेनन । फलेवास नगरपालिकाले गत बर्ष नगरपालिकाकै कर्मचारीहरु मार्फत वडास्तरीय समिक्षा कार्यक्रम गरी सार्वजनिक सुनुवाई कार्यक्रमलाई आलटाल गरयो । पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, सहजकर्ता स्वतन्त्र संस्थाबाट प्रतिनिधित्व गराउने र जनताका जनअभिमतलाई सबाल जबाफ मार्फत सम्बोधन गर्ने काम नगरपालिकाले गरेन । उता, महाशिलाले पनि सोहि पद्धति अपनायो । विहादी गाउँपालिका र पैयू गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गत बर्ष सञ्चालन नै गरेनन । कुश्मा नगरपालिकाले वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरे पनि पालिका स्तरीय कार्यक्रम आयोजना गरेन । गत बर्ष पनि मोदी र जलजला गाउँपालिकाले भने सार्वजनिक सुनुवाई कार्यत्र mमको आयोजना गरेको हो ।
चालु आर्थिक बर्षको अन्तिम चौमासिकमा जलजला गाउँपालिकाद्धारा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही स्थानीय बासीले कार्यपालिकासंग दजनौ प्रश्नहरु गरे ।
कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम्बन्धी काम, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत साधनको प्रयोगमा देखिएको समस्या देखि शिक्षा, स्वास्थ्य, बिद्युत लगायतका बिषयमा सर्वसाधरणले जिज्ञासा राखेका थिए भने गाउँपालिकाबाट सम्पादन भएका कामका बारेमा पालिकाको तर्फबाट जानकारी गराइएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहका काम कामकाबार्हीलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउँदै पालिकाहरुका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने काम भैरहेको छ बताएका थिए । सहभागीहरुको प्रश्नको उत्तर दिदै पौडेलले नदीजन्य पर्दाथको उत्खनन र प्रयोग गर्ने कार्यको स्थानिय तहले तयारको गरेको वातावरणीय प्रभाव मुल्याँकनको प्रतिबेदन स्विकृत गर्ने र अनुगमन गर्ने अधिकार मात्रै समन्वय समितिलाई भएको तर कार्यान्वयन गर्ने काम स्थानिय तहकै हो बताए ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले संघीयताको मर्म अनुसार काम नभएको चर्चा गर्दै संघ र प्रदेशले स्थानिय तहको काममा अनावश्यक हस्तक्षेप भएका कारण काम गर्न कठिन भएको बताए । सेवाग्राहीहरुको प्रश्नको उत्तर दिदै अध्यक्ष मल्ले गाउँपालिकाले सबै योजनाहरुको कार्यान्वयनको काम गर्दा पारदर्शी र ब्यबहारिक ढंगले भैरहेको बताउँदै नदीजन्य पर्दाथको उपयोग स्विकृत आइइ अनुसार भएको र कहिँ कतै भएको भए अनुगमन गरेर काबार्ही गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ता समितिको गठन तथा योजनाहरुको छनौट र कार्यान्वयन गर्ने काममा कुनै भेदभाब नभएको दावी गरे ।
कार्यक्रममा उठेका प्रश्नको उत्तर दिदै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनताको धेरै माग र आवश्यकताहरु सम्बोधन स्थानीय तहहरुबाटै हुने भन्दै स्थानीय सरकार जनमुखी हुनपर्ने बताए । उनले सार्वजनिक सम्पतिको सदुपयोग गर्ने दायित्व स्थानिय सरकारको भएको बताउँदै आवश्यक शान्ति सुरक्षाका लागि सहयोग गर्न प्रशासन सधै तयार छ बताए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले घरेलुहिंसा, साइबर अपराधका घटनाहरु अहिले पनि बढीरहेको बताउँदै त्यसका बारेमा सचेत हुन र कानुनी उपचार खोज्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले यस आर्थिक बर्ष सञ्चालन गरेका कामको प्रगति बिबरण पेश गरेका थिए । उनले सबै सडकको ७ मिटर मापदण्ड कार्यान्वयनमा रहेको, शिक्षकहरुको मासिक तलब निकासाको ब्यबस्था भएको, ६ सय ४० मिटर ढलान गरिएको, प्राथमिक तहमा अंंग्रेजी माध्यममा शिक्षण गर्ने ब्यबस्था मिलाइएको जानकारी दिए ।
चालु आर्थिक बर्षका १ सय ४२ योजनाहरुको सम्झौता भएकोमा ७४ योजना फरफारक भएको तथा ६८ वटा योजनाहरु कार्यान्वयन चरणमा रहेको जानकारी दिए । घर नक्सा पास गर्ने, वडातहमै शिबिर सञ्चालन गरेर राजस्व संकलन गर्ने लगायतका काम गरिरहेको पनि उहाँको भनाई थियो । वडा नं २ का अध्यक्ष गोबिन्द क्षेत्री, वडा नं ४ का अध्यक्ष भिष्म मल्ल, वडा नं ८ का अध्यक्ष हरिबिकास जिसीले पनि बिभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।




