५ जेठ, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम ४५ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
२०७४ चैत महिनादेखि स्तरोन्नतिको काम शुरू भएको पर्वत खण्डमा हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको हो । आयोजनाले भने आगामी असार मसान्तसम्ममा ७० प्रतिशत काम सक्ने लक्ष्य लिएको भएपनि ५० प्रतिशत मात्र पुरा हुने देखिएको हो । सडक निर्माणको काम सुस्त हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
प्रतिकुल मौषम, निर्माण सामाग्रीको अभाव आदि कारण सोचे अनुरुपका प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख ईञ्जिनियर आशिस थापा मगरले जानकारी दिए । ‘केही समस्या कारण हामीले सोचे अनुसारको प्रगित हुन सकेको छैन’ उनले भने– ‘१ महिनाको अवधिकमा केही प्रगति थप हुन्छ ।’
लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुरुप हुन नसकोको उनले बताए । मगरका अनुसार १० किलोमिटर कालोपत्रेको काम यस आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको र आगामी असारसम्ममा सो काम सकेका ६० प्रतिशत प्रगति हाँसिल हुने बताए । सडको अधिकांस ठाउँमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने लगायतका संरचनाको काम सकिएको जानकारी दिए ।
‘२१ किलोमिटरमा पक्की गर्न सबै स्ट्रक्चर तयार भएको छ’ मगरले भने ‘४ किलोमिटरमा भने कडा चट्टान, साँघुरो सडक आदि कारणले काम हुन नसकेको हो ।’ यो सडक खण्डको २१ किलोमिटर खण्ड दुई लेन र पर्वतको सदरमुकाम कुश्मा बजारको २ किलोमिटर खण्ड चार लेनको हुनेछ ।
कुश्मावजारमा बिजुलीका पोल र खानेपानीको पाइपका कारण सडक विस्तारका लागि डोजर लगाउन समस्या भएको छ । सम्बन्धित निकायले त्यसको व्यवस्थापन गरे आयोजनाले सदरमुकाम भित्रको सडकमा पनि काम गरेर एकैपटक सबै खण्डको सक्ने लक्ष्यमा रहेको थापाले बताए ।
आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको हो । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ ।
लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न चारओटा प्याकेज बनाएर काम भइरहेको छ ।
मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार २०७७ भदौसम्ममा पोखरा–बागलुङ सडक खण्डको सबै काम सकिने बताईएको छ । आयोजनाको कास्की खण्डमा हालसम्म ५३ प्रतिशत र बाग्लुङमा ४५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको समग्र आर्थिक प्रगति भने ६० प्रतिशत भएको आयोजना प्रमुख मगरले जानकारी दिए ।
कार्यालयका अनुसार कास्की खण्डको नयाँपुलदेखि लुम्ले खण्डको ७ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएको छ । १४ किलोमिटर लक्ष्य लिएकोमा निर्माण समाग्री अभाव र खराव मौषका कारण प्रगति हाँसिल हुन नसकोको उनले बताए ।
२०५० सालमा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारीसाधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो । गोरखापत्रमा प्रकाशित समाचार




