Print

‘राष्ट्रिय पूँजीको निर्माण गर्दै समाजबाद ल्याउनुपर्छ’– सांसद गिरी

३ जेठ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले राष्ट्रिय पूँजीको निर्माण गर्दै समाजबाद ल्याउनुको विकल्प नभएको बताएका छन । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी कुश्मा नगर कमिटिले आयोजना गरेको मदन आश्रित स्मृति दिवस तथा पार्टी एकता दिवसको अवसरमा बोल्दै अध्यक्ष गिरीले नवसामन्तबादको अन्त्य गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नु आजको आवश्यकता रहेको औल्याए ।

उनले राष्ट्रिय पूँजी निर्माण गर्न कृषिमा यान्त्रिकरण, उत्पादनमा औद्योगीकरण र वितरणमा बजारीकरण आजको आवश्यकता रहेको कुरा उल्लेख गरे । कालमाक्र्स पछि संसारले मदन भण्डारीको कम्युनिजम विचारधारालाई आत्मसाथ गरेको गिरीको दावी छ । उनले मदन भण्डारीको शान्तिपूर्ण जनसंघर्षबाट समाजवाद ल्याउन सकिने कुरा विश्व कै कम्युनिष्ट आन्दोलनमा नविनतम उदाहरण भएको जिकिर गरे । सरकार अहिले दलाल, नोकरशाही प्रवृत्ति र समान्तबादका अवशेषहरुसंग संघर्ष गरीरहेको उल्लेख गर्दै ति सवै खालका अवशेषको अन्त्यसंगै देशमा पुँजीबादको उदय हुने उनको भनाई छ । पँुजीवाद हुँदै समाजबादी समाजमा निर्माणमा स्वर्गीय मदन भण्डारीले देखेको सपना पुरा गर्नका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको उल्लेख गर्दै पार्टी एकताले वर्ग संघर्ष थप उत्कर्षमा पुगेको गिरीको दावी छ ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी पर्वतका जिल्ला सचिव सुदीप कुँवरले नवसामान्तबादसंगैका लडाईले मात्रै समाजबाद स्थापना हुने बताए । उनले देशबाट अझै समान्तबादको अन्त्य नभएको हुँदा दुई ठूला कम्युनिष्ट केन्द्र वीच एकताको आवश्यकता रहेको औल्याए । उनले समाज परिर्वतन वर्ग संघर्षबाटै हुने भन्दै माक्र्सवाद, लेलिनबादको परिष्कृट विचारधारा कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीबाट प्राप्त भएको कुरा उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युष्निट पार्टीका प्रदेश सदस्य देवेन्द्र पाण्डे, संविधान सभा सदस्य कल्पना चापागाई, नेकपाका नेताहरु भक्त कुवँर, पदमपाणी शर्मा, गोविन्द पहाडी, प्रदेश सभा सदस्य जुनादेवी नेपाली लगाएतले स्वर्गीय मदन भण्डारी र जीवनाथ आश्रितको स्मरण गर्दै उनीहरुको राजनैतिक देनको चर्चा गरेका थिए । कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव ढाकाराम सुवेदीले गरेका थिए ।