Print

फलेवासमा प्रथम मेयर कप आजबाट : पुरस्कार राशी न्यून, खेलाडी निराश

२७ वैशाख, पर्वत । फलेवास नगरपालिकामा प्रथम मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट शुरु हुँदैछ । कुल २० लाख रुपैंया बजेट विनियोजन भएको मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भने पुरस्कार राशी न्यून राखिएको छ । नगर सरकारले आयोजना गरेको प्रतियोगीतामा युवा समूहहरुले भन्दा न्यून पुरस्कार राशी राखेर प्रतियोगीताको आयोजना गरिएको हो ।

नगरपालिकाले जनाए अनुसार मेयर कप प्रतियोगीताका लागि प्रथम पुरस्कार ३० हजार, द्धितिय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजार राखिएको छ । मेयर कप प्रतियोगीतामा नगरपालिकाका ११ वटै वडाको तर्फबाट भलिबल खेलमा सहभागीता हुनेछ । वडा स्तरीय भलिबल प्रतियोगीतामा ३० हजार रकम न्यून रहेको नगरपालिका प्रमु्ख प्रशासकीय अधिकृत मोती सापकोटा स्विकार गर्छन । उनले यूवा क्लबलहरुले प्रथम पुरस्कार नै १ लाख भन्दा बढि राख्ने गरेको दृटान्त दिदै नगरपालिकाले पुरस्कार राशि घटाएर ब्ययभार कम गरेको दावी गरे ।

भलिबल प्रतियोगीतामा ६ खेलाडी सहित समूहमा कम्तिमा १० जनाको टोली रहन्छ । उनीहरु प्रथम हुँदा प्राप्त गर्ने रकम न्यून तोकिएको प्रति खेलाडीहरुको भने आपत्ति रहँदै आएको छ । राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्ने प्रथम समूहले १५ हजार, द्धितिय हुने समूहले १२ हजार र तृतिय हुने समूहले १० हजार पुरस्कार प्राप्त गर्नेछन । नगरसरकार आफैले खेल क्षेत्रको विकास गर्न आयोजना गर्ने कार्यक्रममा खेलाडी मैत्री पुरस्कार राशि राखिएको छैन । नगरप्रमुम पदमपाणी शर्मा भन्छन–‘सिस्टम बसाल्न यसो गरिएको हो ।’

नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन जानकारी दिए । खेल पछि नगरस्तरीय खेलाडीको समेत पहिचान गरिनेछ ।

प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहने बताईएको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताले सहयोग पुग्ने नगरप्रमुख शर्माको भनाई छ ।

यसैबीच राष्ट्रपती रनिङ शिल्ड र प्रथम मेयर कप खेलकुद प्रतियोगिताको सन्देश प्रवाह गर्ने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीका बीच मैत्रीपूर्ण फूटवल खेल बिहिबार सम्पन्न गरिएको छ । मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधी माथि १ः० को अग्रताका साथ बिजय हाँसिल गरेको छ ।