१० वैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पर्वत जिल्लाका ७ वटै स्थानीय तहका अध्यक्ष र सचिव टुंगाएको छ । आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटिको वैठकले जिल्लाका ७ वटै स्थानीय तहका अध्यक्ष र सचिव टुंगाएको हो ।
प्राप्त जानकारी अनुसार जिल्लाको ठूलो नगरपालिका कुश्मा नगरपालिकाको अध्यक्षमा शंकर गिरी र सचिवमा ढाकाराम सुवेदी चयन भएका छन । गिरी साविक माओवादीको प्रचण्ड निकट मानिन्छन । सुवेदी भने ओली निकट हुन । यसैगरी फलेवास नगरपालिकाको अध्यक्षमा पिताब्बर घिमिरे र सचिवमा शोभा क्षेत्री चयन भएकी छिन ।
घिमिरे तत्कालीन एमालेका मध्यमार्गी हुन भने क्षेत्री माओवादीको तर्फबाट सचिव भएकी हुन । यसैगरी जललजला गाउँपालिकामा अध्यक्ष दिपक आचार्य चयन भएका छन । उनी माओवादीको प्रचण्ड निकट मानिन्छन । सचिवमा तत्कालीन एमालेका टुंगनाथ शर्मा चयन भएका छन ।
उता, मोदी गाउँपालिकामा भने केपि ओली निकट तेजबहादुर क्षेत्री अध्यक्षमा चयन भएका छन । सचिवमा साविक माओवादीको तर्फबाट कृष्णप्रसाद क्षेत्रीले जिम्मेवारी लिने भएका छन । जिल्लाको महाशिला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट केपि ओली निकट मानिने विष्णुराम विक र सचिवमा दुर्गा तमु चयन भएका छन । जिल्लाको पैयू गाउँपालिकामा केपि ओली निकट मानिने चोकलाल न्यौपानले गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पाएका छन ।
यसैगरी विहादी गाउँपालिकामा साविक माओवादीका नेता सन्तबहादुर गुरुङ चयन भएका छन भने सचिवमा तत्कालीन एमालेका नेता शेरबहादुर थापा चयन भएका छन ।
यो संगै जिल्लामा स्थानीय तहहरुमा माधव नेपाल समूह झण्डै रित्तै भएको छ । तत्कालीन एमालेको तर्फबाट केपि समूहको हावी भएको देखिन्छ । जिल्ला अध्यक्ष र सचिवको चयनमा आपत्ति ब्यक्त गर्दै आइरहेका माधव नेपालले पर्वत जिल्लाका स्थानीय तहहरुको नेतृत्व भने हत्याउन नसकेको कम्युनिष्ट कार्यकर्ताहरुको ठहर छ ।




