२ बैशाख, पर्वत । यहाँका एक बृद्धले आँफूले वर्षभरि पाउने बृद्ध भत्ताको रकमले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा असाहय विद्यार्थीलाई पोशाक वितरण गरि मनाउनुभएको छ ।
स्थानीय समाजसेवी तोयनाथ चालिसेले आफ्नो ७८ औं जन्मदिनको अवसरमा वर्षभरी प्राप्त हुने सामाजिक सुरक्षाको रकममा अन्य रकम थप गरि ६९ जना गरिब तथा विपन्न बालबालिकालाई पोशाक तथा खाजा वितरण गर्नुभएको हो । सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत शिशु कक्षादेखि ३ कक्षा सम्मका बालबालिकालाई सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा बालबालिकाको क्षेत्रमा सहयोग गर्दा उनीहरुको भविष्य समेत बन्ने देखेर आँफूले यस्तो सहयोग गरेको उहाँको भनाई छ । उहाँले प्रत्येक वर्ष बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुहुन्छ । अाँफूले गरेको सानो सहयोगले बालबालिकाको भविष्य बनोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो काम गर्दै आएको चालिसेको भनाई छ ।
उहाँले गत वर्षहरुमा समेत बृद्ध भत्ताको रकमबाट सोही विद्यालयमा १ लाख ५० हजारको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक समेत रहेका चालिसेले आँफूले लामो समय राजनीति गर्दा सामाजिक आन्दोलन र परिवर्तनका क्षेत्रमा बहस गरेकाले काममा समेत देखिने गरि उदाहरण बन्नुपर्नेमा जोड दिनुभयो ।
आँफूलाई वर्षभरी खान पुग्छ भने समाजमा पनि सहयोग गर्दा राम्रो हुन्छ भन्ने हेतुले खर्च गर्दै आएको छु उहाँले भन्नुभयो– खान पुग्नेले नपुग्नेलाई दिनु नै समाजबाद हो । शिवालय माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले शिक्षा तथा समाजिक क्षेत्रमा लामो योगदान गर्दै आउनुभएको छ ।




