Print

विकास निर्माणका ‘स्टेप स्टेप’ मा सांसद गिरीको नजर

१० चैत्र, पर्वत । विकास योजनाहरु एकै पटक पुरा हुँदैनन । योजना छनौट र ति योजनाको कार्यान्वयनका विभिन्न चरणहरु हुन्छन । योजना छनौट हुँदैमा योजनाको काम सम्पन्न हुन्छ भन्ने हुँदैन । कतिपय योजनाको निर्माणमा समस्या हुन्छन र ति योजना असफल पनि हुन्छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीले भने योजना छनौटमा मात्र होइन योजनाको सफल कार्यान्वयनमा समेत पछिल्लो समयमा चासो ब्यक्त गर्न थालेका छन ।

यस अघिका जनप्रतिनिधिहरुले योजनाको छनौटमा मात्र ध्यान दिँदा जिल्लाका धेरै योजनाहरु अलपत्र अवस्थामा छन । छनौट भएर कार्यान्वयनको चरणमा पुगेका योजनाहरुको सफल कार्यान्वयन नहुँदा जिल्लाबासीले सास्ती बेहोर्नु परेको यथार्यलाई हेर्दै सांसद गिरीले जिल्लाका विभिन्न विकास योजनाहरुको अनुगमनमा आफैले तदारुकता देखाउन थालेका हुन ।

यसै वीच कुश्मा देखि दुर्लुङ हुँदै क्याङ जोड्ने सडकको सांसद गिरीले बजेट विनियोजनमा मात्र होइन योजनाको सफल कार्यान्वयनमा समेत चासो ब्यक्त गरेका छन । यस अघि २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले ट्रयाक्क खोल्ने काम गरेको उक्त सडक बर्षौसम्म कच्चि सडकको रुपमा रह्यो । यस अघि ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाले सडकको स्तरोउन्नती गरे पनि सडकले पूर्णता पाउन सकेको थिएन । कच्चि सडकमा यात्रा गर्न बाध्य दुर्लुङ र क्याङबासीको माझ सांसद गिरीले निर्वाचनको बेला गरेको प्रतिबद्धता अनुसार अहिले सडक कालोपत्रे र ढलानको चरणमा छ । एक कार्यक्रमका वीच सडकलाई पक्कि बनाउने अभियानको शुरुवात गरेका सांसद गिरीले सडक सम्पन्न गर्ने प्रण गरेका छन ।

यसैवीच शनिवार सडकको अनुगमन गर्दै सडक गुणस्तरीय बनाउन निर्देशन समेत दिए । ‘सांसद आफै फिल्डमा पुग्ने, जनताको गुनासाहरुको समाधान गर्ने यस अघि कुनै परिपार्टी थिएन’ नेपाल कम्युनिष्ट पार्टीका नेता भक्त कुँवर भन्छन–‘नेकपाका सांसद गिरीले भने सवै योजनाको कार्यान्वयनमा ध्यान दिँदा योजनाहरु अलपत्र पर्ने सम्भावना छैन ।’ सांसद गिरीले जिल्लाको विकास निर्माणमा आफूले गरेका सवै प्रतिबद्धताहरु पुरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले सडक, निर्माणधिन पुलहरु र भौतिक पूर्वाधारहरुमा आफ्नो विशेष निगरानी रहने भन्दै समयमा गुणस्तरीय काम हुनुपर्ने धारणा राखे । उनले सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको अभिभारा पुरा गर्न सवैको सहयोग, साथ र समर्थन हुनुपर्ने धारणा राख्दै त्यस्तो अभियानमा आफू पनि लागि परेको बताए ।

सांसद गिरीले यस अघि निर्माण कार्य रोकिएको कालीगण्डकी करिडोरको पर्वत खण्डको अनुगमन गरे संगै सडकको निर्माण कार्य अघि बढेको थियो । उता, करिडोर अन्तर्गतको देविस्थान र कुर्घा जोड्ने पुलको निर्माण कार्य निर्माण कम्पनीले अपलत्र छाडेपछि सांसद गिरीकै पहलमा निर्माण कार्य अहिले दु्रत गतिमा अघि बढेको छ । यस अघि कास्की र पर्वत जोड्ने भूरुङदीखोलाको मोटरेवल पुल पनि सांसद गिरीले निरन्तर चासो ब्यक्तगरे संगै निर्माण कार्य भईरहेको छ । मध्य पहाडी लोकमार्ग र ग्रामीण सडकहरुको निर्माण कार्यमा समेत सांसद गिरीले चासो ब्यक्त गर्दै आइरहेका छन । अर्थ वीट साप्ताहिकबाट