१० चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा अर्धबार्षिक सेवाग्राहीहरुका वीचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका स्थापना भएपछि पहिलो पल्ट आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले गाउँपालिका र वडाहरुबाट प्रवाह हुने सेवाहरुका विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरु भुकम्पको पुर्ननिर्माण, शिक्षा क्षेत्रको सुधार तथा रिक्त स्थानमा पद पूर्ति, क्रमागत योजनाहरुका रकमको ब्यवस्थापन, वडा कार्यालयको सेवा प्रवाह र शुसासन, स्वास्थ्य सेवा प्रवाह र एम्बेलेन्स सञ्चालन, महिलाहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम कार्यक्रमहरु, सुचनाको पहुँच र त्यसको विस्तारका विषयमा प्रश्न गरेका थिए । पालिकाका ६ वटै वडाका प्रतिनिधिमूलक सेवाग्राहीले सेवा प्रवाहलाई ब्यवस्थित बनाउन तथा गाउँपालिकाको सभा हल निर्माण गर्न समेत सुझाब दिएका थिए । उनीहरुले सडक विस्तारलाई ब्यवस्थित गर्न आग्रह गर्दै सेवा प्रवाहमा सहज हुने गरी गाउँपालिकाको केन्द्रलाई उचित स्थानमा राख्ने विषयमा समेत प्रश्न गरेका थिए ।
सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष कमल भुषालले आफ्नो कार्यकालमा देखिने गरी नै उपलब्धि हासिल हुने प्रतिबद्धता ब्यक्त गरे । उनले सडक, कृषि, पूर्वाधार विकासमा फड्को मार्ने गरी काम हुने बताए । गाउँपालिकालाई काठेपोल मुक्त बनाउन अभियान शुरु भईरहेको जानकारी दिदै सडक कालोपत्रेको लागि भईरहेका प्रयासहरुको बारेमा जानकारी गराए । उनले सकारात्मक सुझाब दिदाँ गाउँपालिकाले गर्ने कार्यक्रमहरुमा थप सुधार आउने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले गाउँपालिकाको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । पन्थीले गाउँपालिबाट प्रवाह हुने सेवाहरुको बारेमा समेत जानकारी गराएका थिए । उनले चालु आर्थिक बर्षको आम्दानी र खर्चको विवरण पेश गर्दै चालु आर्थिक बर्षमा झण्डै ५२ प्रतिशत रकम खर्च भएको जानकारी गराए । सडकहरु कालोपत्रेका लागि संघिय सरकारको अर्थ मन्त्रालयमा प्रयास भइरहेको जानकारी गराउँदै विषयगत कार्यालय र गाउँपालिकाको प्रशासनमा कुनै समस्या आए आफूले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा वडा न १ का अध्यक्ष हेमनाथ अचार्य, वडा न ३ का वडा अध्यक्ष रणबहादुर आले, वडा न ५ का वडा अध्यक्ष श्याम बहादुर केसी वडा कार्यालयको विषयमा उठेका प्रश्नहरुको उत्तर दिएका थिए । यसैगरी शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य, स्वास्थ्य संयोजक हरीप्रसाद भुषाल, इन्जिनियर सागर रेग्मी लगाएतले विषयगत प्रश्नहरुको उत्तर दिएका थिए । कार्यक्रमका सहजीकरण नेपाल पत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले गरेका थिए ।




