Print

एघारौं महिला महोत्सव : खुल्ला चौरमा महोत्सव गर्दा पनि विरोध !

२८ माघ, पर्वत । झण्डै १ दशक अगाडि पर्वतमा जिल्लामा स्थापना गरिएको देशकै एउटा फरक रेडियोको नाम हो, रेडियो दिदिवहिनी । महिलाहरुकै ब्यवस्थापन र महिलाहरुकै सञ्चालनमा उक्त रेडियो सञ्चालनमा छ । जिल्लाको सदरमुकाम कुश्मा बजार वडा न ६ मा रेडियोको स्टेशन राखेर सञ्चालनमा ल्याएको उक्त रेडियोले राष्ट्रिय पत्रकारिता पुरस्कार पनि पाएको छ ।

रेडियोकी संस्थापक अध्यक्ष कल्पना चापागाई पूर्व सांसद हुन । समान्य लेखपढकै भरमा उनी रेडियोकी अध्यक्ष मात्र बनिन् देशको इतिहासिक दोस्रो संविधान सभाको सदस्यको जिम्मेवारी पनि पुरा गरिन । पर्वत जिल्लाबाटै राजनीतिक यात्रा शुभारम्भ गरेकी चापागाईले महिलाको शसक्तिकरण, महिला एकता र महिला जागरणको लागि रेडियो दिदिवहिनी मार्फत वर्गिय आन्दोलन पर्वतमा शुरु गरेकी हुन । उनले रेडियोको दैनिक र नियमित कार्यक्रमको अलवा बर्षेनी महिला महोत्सव गर्दै आएकी छिन । जिल्लाको सदरमुकाममा सञ्चालन गरेको महिला महोत्सव अरु सवै महोत्सव भन्दा फरक, उत्कृष्ट र विशेष नै हुँदै आएको छ ।

मेलाको रुपमा शुभारम्भ गरिएको कार्यक्रमलाई रेडियोले पछिल्ला बर्षहरुमा बृहत महिला महोत्सवको रुपमा सञ्चालन गर्दै आएको हो । राष्ट्रिय स्तरका भलिबल प्रतियोगीता देखि ब्यापारीक प्रयोजनका सवै कार्यक्रमहरु सञ्चालन गर्ने रेडियोलाई पछिल्लो बर्षहरुमा सार्वजनिक स्थलमा कार्यक्रम गरेको भनेर आलोचना भईरहेको छ ।

सार्वजनिक स्थलहरुको संरक्षण गर्ने नगरपालिकाले पत्रद्धारा नै कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । वडा कार्यालयले कार्यक्रम सञ्चालनका लागि सिफारिस गरेको छ । कार्यक्रम सार्वजनिक स्थलमा भएको भनेर गरिएको आचोलनाले कार्यक्रमलाई विवादमा पार्न खोजिएको छ । एउटा महिलाको संस्थाले गरेको कार्यक्रम सवै पुरुषको साथ, सहयोग र समर्थन हुनुपर्नेमा सार्वजनिक स्थलको प्रयोगको विषयमा गरिएको आलोचना न्योयोचित वा अन्यायपूर्ण छ बहसको विषय बनेको छ ।

महोत्सव, मेला र रमाइला कार्यक्रमहरु हुँदा जिल्लाको पहिचान अन्य क्षेत्रमा बढ्नुका साथै जिल्लाको आर्थिक कारोबारमा समेत बृद्धि हुन्छ । संघियताका कारण बन्द गएका बजारहरुमा चहलपहल बढ्छ । राष्ट्रिय स्तरका कलाकार, खेलाडी र कृषि मेला प्रर्दशनीको यो अवसरको विरोध गर्ने की सकारात्मक कार्यको सिको गर्ने ? (समाचार टिप्पणी)