Print

गगन मार्गबाट गगन थापा पर्वत आए, भाषण सुन्दा कांग्रेस कार्यकर्ता निराश भए

१६ माघ, पर्वत । हप्ता दिन देखि पर्वतका कांग्रेस कार्यकर्ताहरु जुरमुराएका थिए । अघिल्लो दिनसम्म पर्वत सदरमुकाम कुश्मा बजारमा झण्डै ६ राउण्ड माइकिङ गरियो । दुर्लुङमा गगन थापा आउँदैछन भनेर । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताहरु जोडबल लगाएर प्रचारमा  जुटे । कार्यक्रम हुने दिन गगन थापा गगन मार्गबाट पर्वत आए । आयोजक सहित दुई वटा हेलिकप्टर आकाशमा उड्यो, भुईमा बस्दा धूँलो उडायो । कांग्रेस कार्यकर्ताहरु गगन थापाको भाषण सुन्नैकै लागि भनेर तामझामका साथ दुर्लुङमा भेला भए ।

सन्दर्भ थियो, दुर्लुङमा रहेको सूर्यप्रकाश माविको बार्षिकोत्सव तथा भवनको उद्घाटन कार्यक्रमको । प्रमुख अतिथि थिए पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापा । उनी नेपाली कांग्रेसका नेता हुन । उनको प्रवचन सुन्न दुर्लुङमा जम्मा हुने कार्यकर्ताहरु कतिले उनी सवार हेलिकप्टरमा सेल्फी पनि खिच्न भ्याए । आफ्ना नेता चढेर आएको विमान छुन पाउनुलाई कतिले गर्भ पनि गरे । स्वयम् गगन थापासंग सेल्फी खिच्नेको पनि ठूलो भिड नै लाग्यो ।

स्थानीय तह, प्रदेश र संघ तिन वटै निर्वाचनमा कांग्रेसले पर्वतमा ठूलो धक्का खाएका थियो । गगन थापाको गगन चुम्ने भाषणको अपेक्षा थियो । विद्यालयको कार्यक्रममा प्रमुख अतिथि बनेका उनले भवनको उद्घाटन गरे । बार्षिकोत्सवको पनि उद्घाटन गरे । कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमको शुरुमै उनले भने– ‘राजनैतिक कुरा पछि गरौला अहिले शैक्षिक कुरा गरौ ।’ विद्यालय, विद्यार्थी, अभिभावक र सरकारको शिक्षा नीतिको विषयमा थोरै शब्दहरु बोले । उता, सरकारलाई गगन थापाले गाली गर्लान र ताली बजाउँला भन्नेहरु जिल्ल परे ।

ताली बजाउन तयार पारेका हातहरु लोलाए । कार्यक्रममा बोल्दै थापाले भने –‘बाटो खन्ने मात्र विकास होइन, शैक्षिक जनशक्ति उत्पादन गर्नु ठूलो विकास हो ।’ उनले वर्तमान विकास प्रक्रिया माथि धावा बोल्दै भने–‘हामी विश्व सामू शैक्षिक हिसावले धेरै पछि छौ, अव सवै जना मिलेर शिक्षा क्षेत्रको विकास गर्नुपर्छ ।’

युवा जोश भएका थापाले कम्युनिष्टहरुको चर्को आलोचना गर्छन भन्ने कार्यकर्ताको सोच उल्टो बन्यो । कार्यक्रम सकेर गगन गगनमार्गबाट फर्कीए ।