२९ पौष, पर्वत । ‘म ठोकुवाका साथ भन्छु, अहिले नभए पर्वतको विकास कहिल्यै हुँदैन ।’ हलमा गड्गडाहड् ताली बज्यो । सांसदको मूहारमा अझ चमक आयो । उनले थपे–‘हामी योजनाबद्ध विकासमा लागेका छौं, प्रतिफल दिएर छाड्छौं ।’
प्रतिनिधि सभामा पर्वतबाट निर्वाचित सांसद पदम गिरी बोलिरहँदा उता राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाको मुहारमा मुस्कुराहट थियो । प्रदेश मन्त्री विकास लम्साल भावुक थिए । स्टेजका अतिथिहरु मग्द थिए । हलका सहभागीहरु एकाग्र भएर सुनेका थिए । ‘पर्वतले अहिले ठूलो अवसर पाएको छ’ सांसद गिरीले गर्भ गर्दै भने–‘दुई तिहाइ हामीसंग छ, राष्ट्रिय सभा, प्रदेश मन्त्री, प्रतिनिधि सभा र स्थानीय सरकारमा बहुमत हाम्रै छ ।’ ‘जनतालाई गुम्राहामा हालेर जिल्लाको विकास नगर्ने दिन अब गए’ गिरीको कथन थियो ।
शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा ब्यवसायीहरुको एक कार्यक्रममा सहभागी थिए अध्यक्ष तिमिल्सीना, मन्त्री लम्साल र सांसद गिरी । तत्कालीन नेकपा एमालेका ३ वटै नेता अहिले संघ र प्रदेशको निर्णायक तहमा छन । उनीहरुको एउटै प्रतिबद्धता थियो–‘२५ बर्षमा नभएको विकास पर्वतमा अव हुन्छ ।’
२०४९ सालमा खनिएको पोखरा–बागलुङ सडक बाहेक जिल्लामा कुनै पनि सडक कालोपत्रे छैनन । प्रदेश मन्त्री लम्सालले भने–‘यो विडम्बना अव छुट्टै समाप्त हुँदैछ ।’ ‘संयुक्त बामगठबन्धका साझा प्रतिबद्धताहरु पुरा गर्ने दायित्व भुलेका छैनौ’ सांसद गिरीले थपे–‘राष्ट्रिय सभा अध्यक्ष पर्वतले पाएको गौरब अव विकासका योजनाहरुमा देखिनेछन ।’ कार्यक्रममा बोल्दै उनीहरुले स्वस्च्छ पिउनेपानी सहितको जिल्ला बनाउने अभियान सञ्चालन भईरहेको बताए । ‘केहि बर्षमा धुलाम्मे सडकमा हिड्नु पर्दैन ।’ गिरीले प्रतिबद्धता दोहेराए ।
पर्यटन मन्त्री समेत रहेका लम्सालले पर्वत र विशेष गरी कुश्मालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू आतूर रहेको जिकिर गरे । ‘पोखरामा बास नपाएका पर्यटक अव कुश्मामा आउनेछन’ ब्यवसायीलाई उत्साहित बनाउदै उनले भने–‘गण्डकी प्रदेशमा अव २० लाख पर्यटक भित्राउँछौं ।’
दुई युवा नेताहरुको मन्तब्य सुनेका अध्यक्ष तिमिल्सीनाले थपे–‘प्रदेशका सभामुख देखि राष्ट्रिय सभाको अध्यक्षसम्म पर्वतबासी छौं ।’ उनले विश्वास दिलाउँदै भने–‘सुस्ताएका विकास निर्माण अव शुरु हुन्छन ।’ जिल्ला विकास समिति पर्वतको सभापति समेत भईसकेका तिमिल्सीनाले आफू सभापति हुँदा निर्माण भएका विकास योजना बाहेक यो अवधिमा नयाँ केहि नथपिएका बताए ।
‘सडक, पुल, खानेपानी, विद्युत र पर्यटनको विकास अवको लक्ष्य हो ।’ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विकास निर्माणका काममा सहयोग र सहजीकरण गर्र्ने बताउँदै उनले अधुरा काम पुरा गराउन सधै आफ्नो साथ सहयोग र समर्थन हुने बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि तिमिल्सीना, गिरी र लम्सालले एउटै मञ्चबाट औपचारिक कार्यक्रम सम्बोधन गरेको यो पहिलो कार्यक्रम हो । समन्वय समितिको वैठक बाहेक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा नदेखिएका उनीहरुलाई पर्वत उद्योग बाणिज्य संघले एउटै मञ्चमा उभ्भाएको थियो । मतदाता, कार्यकर्ता र आम नागरिकले विश्वास गर्ने गरी उनीहरुले जिल्लाको विकास योजनाको खाका सुनाए ।
राष्ट्रका महत्वपूर्ण पदहरुमा जिल्लाले प्रतिनिधित्व गरेको बेला जिल्लामा ठूलै प्रगति हुने आम पर्वतबासीले पनि अपेक्षा गरेका छन । तत्कालीन एमालेका दुई अध्यक्ष लम्साल र गिरीलाई तिमिल्सीनाले साथमै लिएर हिड्दा जिल्लाबासीका थुप्रै अपेक्षा पुरा हुनेछन । पछिल्लो निर्वाचनमा पर्वतबासीको म्यान्डेट पनि त्यहि हो ।
(आज प्रकाशित अर्थ वीट साप्ताहिकबाट)




