Print

आज गण्डकी प्रदेशको सार्वजनिक विदा : संघिय सरकार मातहतका कार्यालयहरु खुल्ने

१५ पौष, पर्वत । गण्डकी प्रदेशले घोषणा गरेको सार्वजनिक विदाका दिन संघिय सरकार मातहतका कार्यालयहरु सञ्चालनमा आउने भएका छन । प्रदेश सरकारले तमु ल्होसारको अवसरमा प्रदेश भित्रका कार्यालयहरुमा सार्वजनिक विदाको आब्हान गरेको थियो ।

संघिय सरकारले थप निर्देशन नदिएका कारण संघ मातहतका सरकारी सवै कार्यालयहरु आज दिन भर नियमित रुपमा झै सञ्चालनमा आउने पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ढकालले संघिय सरकारको थप निर्देशन नआएका कारण कार्यालयहरु सञ्चालनमा आउने बताए ।

प्रदेश र संघका साझा सार्वजनिक विदाहरुमा संघिय सरकारको स्विकृतमा विदा हुने ब्यवस्था भएपनि गण्डकी प्रदेशका ल्होसार पर्वमा संघिय सरकारले समर्थन नजनाउँदा संघिय कार्यालयहरु खुल्ला रहने भएका हुन ।

संघ मातहतका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला अनुसन्धान कार्यालय, मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, नापी कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा आज नियमित कामकाज हुने प्रजिअ ढकालले जानकारी दिए ।