Print

फलेवास नगरपालिकाले निर्माण सम्पन्न भएका कच्चि घरहरुमा पनि कर लगायो

२६ मंसीर, पर्वत । जिल्लाको फलेवास नगरपालिका भित्र निर्माण सम्पन्न भएका कच्चि घरहरको पनि नक्सा नियमित गर्नुपर्ने भएको छ । नगरपालिकाले जारी गरेको सुचना अनुसार नगरपालिका स्थापना हुनु अघि नै निर्माण भएका कच्चि र पक्कि दुवै घरको नगरपालिकामा नक्सा नियमित गर्नुपर्ने भएको हो । नगरपालिका अधिकांश ग्रामीण इलाका भएको क्षेत्र भएकाले यहाँका अधिकांश घरहरु कच्चि छन ।

नगरपालिकाका १४ वटै वडाका कच्चि घरहरको समेत इन्जिनियर मार्फत नक्सा बनाएर घर नियमित गर्नुपर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जारी गरेका सुचनामा भनिएको छ– ‘नगरपालिका स्थापना हुनुभन्दा अगाडि निर्माण भएका कच्चि तथा पक्कि घरनक्सा नियमित गर्नुपर्ने भनी फलेवास नगरकार्यपालिकाबाट निर्णय भएकाले नगरपालिका भित्र निर्माण भएका घरनक्सा असार मसान्तसम्म नियमित गर्न सवैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’ नगरपालिकाले आन्तरीक आम्दानी बृद्धि गर्न गरेको यो निर्णयबाट भने नगरपालिका खुशी हुनसकेका छैनन ।

कच्चि घरहरुको समेत नक्सा बनाएर नगरपालिकालाई दस्तुर दिर्ता खर्च धेरै लाग्ने भन्दै स्थानीयले भने गुनासो गरेका छन । नगरपालिकाले नयाँ बन्ने पक्कि घरहरुलाई भने नक्सा विना निर्माण गर्न नदिने यस अघि नै निर्णय गरेको छ । निर्माण सम्पन्न भएका कच्चि घरहरुलाई समेत करको दायरामा नगरपालिकाले ल्याएपछि नगरपालिकासंग स्थानीय रुष्ट बनेका छन । नगरपालिकाले आन्तरीक आय बृद्धिका लागि घरजग्गामा पनि कर लगाएको जनाएको छ ।